गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), मङ्सिर २ गते । सशस्त्र द्वन्द्वको कथामा आधारित नाटक ‘हरि हजुरबा’ बर्दिया, गुलरिया र राजापुरमा मञ्चन गरिएको छ । बेपत्ता पारिएका नागरिक द्वन्द्वरत दुवै पक्षले सार्वजनिक गर्नु पर्छ भन्ने भाव झल्किने गरी नाटक मञ्चन गरिएको थियो । देशमै सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दियाका बेपत्ता नागरिक र सहिद परिवारहरू नाटक हेरेर भावविह्वल भएका थिए ।
हरि हजुरबा नाटकमा आफ्नै कथा समेटिएको जस्तो लागेको राजापुर नगरपालिकाकी नगर उपप्रमुख मनकलाकुमारी चौधरीले बताउनुभयो । राजापुर नगरपालिकाका नगरप्रमुख दीपेश थारूले नाटकले उठाउन खोजेको विषयवस्तु राम्रो भएको बताउँदै सशस्त्र द्वन्द्वपछि देशले पाएको उपलब्धिको विषय छुटेको बताउनुभयो ।
नाटक मञ्चनपछिको समीक्षा कार्यक्रमका सहभागीले बर्दियामा नाटक बनाउन योग्य धेरै घटना भएको र त्यसलाई समेटी नाटक मञ्चन गर्नका लागि कलाकार नाजिरलाई आग्रह गरेका छन् ।
नाटकका लेखक, निर्देशक तथा कलाकार नाजिर हुसेनले आफैँले भोगेको घटनालाई समेटेर नाटक बनाएको बताउँदै अब बर्दियाका घटनालाई पनि अध्ययन गरेर नाटक बनाउने इच्छा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले धान दाइँ रहेको समयमा गोली लागेर ढलेका मान्छे देखेको छु । बर्सौंसम्म आफन्तले आफ्ना मान्छे कुरेर बसेको देखेको छु । आफैँले भोगेको र देखेको घटनालाई नाटकमा समेटेको हुँ । फेरि अर्को नाटक लिएर आउँछु ।”
कलाकार विजय बरालले द्वन्द्वका क्रममा बेपत्ता पारिएकी नातिनी र हजुरबुवाको पर्खाइको कथा रहेको बताउनुभयो । उहाँले बेपत्ता पारिएका व्यक्तिलाई सम्झेर परिवारहरू कति पीडित छन् भन्ने कुरा नाटकमा देखाउने प्रयास गरिएको बताउनुभयो ।
नाटक २९ र ३० औँ अङ्क प्रदर्शनका लागि नाटकको टोली बर्दिया पुगेको थियो । नाटकमा सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे, रिसु राउतको पनि अभिनय छ ।