भक्तपुर, मङ्सिर १ गते। हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ।
अर्का वरिष्ठ हास्यव्यङ्ग्य कलाकार तथा कवि डम्बर घिमिरेलाई ‘श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान’ अर्पण गरिएको छ।
कार्यक्रममा मन्तव्य दिँदै डा. माधवप्रसाद पोखरेलले हास्यव्यङ्ग्यले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने तथा विशेषगरी राजनीतिमा देखिएका विकृतिहरूलाई नियन्त्रण गर्न यसले सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रमा लेखन तथा कलामार्फत योगदान पुर्याउँदै आएका छ जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो।
२०८२ का लागि ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार’ काठमाडौँका माणिकरत्न शाक्यलाई र ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कार’ पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईलाई प्रदान गरियो।
त्यसैगरी, ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ छन्दका व्यङ्ग्यकवि डिल्लीप्रसाद मूलतिहुन (ओखलढुङ्गा) लाई र ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार’ बुढ्यौली विषयक साहित्य सिर्जनामा सक्रिय कविराज घिमिरे (भक्तपुर) लाई प्रदान गरिएको थियो।
‘श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान’ द्वारा सम्मानित डम्बर घिमिरेलाई सम्मानपत्र, नेपाली ढाकाटोपी र दोसल्ला अर्पण गरियो भने हास्यव्यङ्ग्यकार आचार्यलाई नगद रु २०,१०५,– सम्मानपत्र र दोसल्ला प्रदान गरियो।
अन्य पुरस्कृत व्यक्तित्व—शाक्य, भट्टराई, मूलतिहुन र घिमिरे—लाई जनही नगद रु १५,१०५,–, सम्मानपत्र र ढाकाटोपी प्रदान गरिएको थियो।
फित्कौली अनलाइन मिडियामार्फत स्थापित र व्यवस्थापन हुने यी सम्मान तथा पुरस्कारका लागि सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, प्रा.डा. मुकेशकुमार चालिसे तथा संयोजक चट्याङ मास्टर सम्मिलित छनोट समितिले स्रष्टाहरूको चयन गरेको थियो।
वरिष्ठ हास्यव्यङ्ग्य लेखक नरेन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हास्यव्यङ्ग्यका तीन कृतिहरू—देवीप्रसाद चापागाईंको ‘बक्रपुराण’, भलाद्मी भोलाको ‘घोप्टेयुग’ र रमेश समर्थनको ‘बदनाम आँचल’—समेत सार्वजनिक गरिएको थियो।