मुम्बई, मङ्सिर ३ गते । करिब ६० अर्ब डलरको भारतीय बलिउड उद्योग अहिले गम्भीर विश्वसनीयता सङ्कटमा परेको छ । उद्योगभित्रका जानकारका अनुसार हेरफेर गरिएको फिल्म समीक्षा, फुलाइएका बक्स अफिस तथ्याङ्क र नक्कली टिकट बिक्रीका दाबीले दर्शकको धारणा विकृत बनाइरहेको छ, जसले अन्ततः टिकट बिक्रीमै नकारात्मक असर पारिरहेको छ ।
स्ट्रिमिङ प्लेटफर्मले परम्परागत सिनेमालाई प्रतिस्पर्धामा पारेका छन्, तर उद्योग भित्रकै व्यक्ति बलिउडका धेरै समस्या स्वयं उद्योग-प्रेरित हुन् भन्छन् । फिल्म रिलिज हुनुअघि नै ‘सुपरहिट’ घोषणा गर्ने प्रवृत्तिबाट लिएर प्रभाव कर्तालाई भुक्तानीमा सकारात्मक समीक्षा लेखाउने प्रचलनसम्मका सबै कारणले दर्शकको विश्वास घट्दै गएको छ ।
निर्माता तथा वितरक सुनील वाध्वाले भन्नुभयो, “यदि तपाईले प्रभाव कर्ता वा आलोचकलाई संलग्न गर्नु भएन भने फिल्म राम्रो भए पनि उनीहरूले नराम्रै समीक्षा लेख्छन् । उल्टो, फिल्म कमजोर भए पनि निर्माता वा स्टुडियोले भुक्तानी गरे सकारात्मक समीक्षा आउने गर्छ ।” उहाँका अनुसार यसले समीक्षाको विश्वसनीयता नै धराशायी बनाइरहेको छ ।
व्यवसाय विश्लेषक तथा अनुभवी वितरक राज बंसलले हालका प्रारम्भिक समीक्षाप्रति दर्शक अत्यन्तै शङ्कित भएको बताउनुभयो । “मिडियाले चार तारा दियो कि मानिस मलाई म्यासेज गर्छन्-‘सर, यसको अर्थ फिल्म राम्रो छैन रहेछ ।’ फिल्म साँच्चिकै राम्रो भए पनि उनीहरूले अब विश्वास गर्दैनन्”, उहाँले टिप्पणी गर्नुभयो ।
यस अविश्वासको प्रत्यक्ष असर बक्स अफिसमा देखिन थालेको उद्योग भित्रकै विशेषज्ञको भनाइ छ । धेरै दर्शकले फिल्म रिलिजको पहिलो दिन नै हेर्न जाने परम्परा तोडेर ‘साँचो प्रतिक्रिया’ आउञ्जेल पर्खिन थालेका छन्, जसले उद्घाटन दिनको टिकट बिक्रीलाई ठुलो झड्का दिइरहेको छ ।
भित्री सूत्रका अनुसार केही प्रभाव कर्ताले ‘रेट कार्ड’ नै तयार पारेका छन्स-मीक्षा वा प्रचारका लागि भुक्तानीको निश्चित दर, जुन कमजोर प्रमोसन भएका फिल्मको लागि अझै महँगो पर्छ । यसलाई बढाउने अर्को अभ्यास भनेको निर्माता आफैँले उदघाटन-हप्तामा थोक टिकट खरिद गरी बक्स अफिस नम्बर कृत्रिमरूपमा बढाउनु हो ।
जेम सिनेमाज, जयपुरका मालिक सुधीर कासलीवालले शाहरुख खानको एक चलचित्रका क्रममा सयौँ अनलाइन बुकिङ देखिए पनि हलमा थोरै दर्शक मात्र उपस्थित भएको अनुभव सुनाउँदै भन्नुभयो, “यदि निर्माता, निर्देशक र कलाकारले नै टिकट किनिरहने यो चलन जारी रह्यो भने बलिउडको भविष्य अत्यन्तै अन्धकार देखिन्छ । गलत सन्देश पठाइन्छ, दर्शक भ्रमित हुन्छन् र राम्रो सामग्री बिना उद्योग उठ्नै सक्दैन ।”
हालैको विवाद अक्षय कुमार अभिनीत फाइटर-जेट एक्सन फिल्म ‘स्काईफोर्स’ सँग पनि जोडिएको छ । निर्देशकले ब्लक-बुकिङको आरोप अस्वीकार गरे पनि मुम्बईका एक अनुभवी व्यापार-विश्लेषकले यसको वास्तविक कलेक्सन करिब ६० लाख डलर रहेको, तर रिपोर्ट गरिएको रकम ९० लाख डलरभन्दा बढी रहेको दाबी गरे । “अनलाइनमा घर-भरिएको देखिन्थ्यो तर धेरै हल खाली नै थिए”, विश्लेषकले नाम नखुलाइकन भने ।
बंसलका अनुसार मिडिया वा प्रभावकर्ताका सामान्यतया ‘सकारात्मक समीक्षाको खेल’ नखेल्नेलाई उद्योगबाटै हुत्याइने जोखिम बढेको छ । “जब म कलेक्सन कमजोर भएको लेख्छु, कलाकार र निर्माताले हटाइ दिन आग्रह गर्छन्”, उहाँले सुनाउनुभयो । वितरक वाध्वाले सन् २०२५ को रोमान्टिक-कमेडी-हरर फिल्म ‘थम्मा’ को कलेक्सन पनि हेरफेर गरिएको दाबी गर्दै वास्तविक बिक्री करिब एक करोड ५० लाख डलर रहेको बताउनुभयो, तर रिपोर्ट भने एक करोड ८० लाख डलरको गरिएको थियो ।
निर्देशक आदित्य सरदारले भन्नुभयो आफ्नो सङ्ख्या ‘सबैभन्दा सही’ भएको जिकिर गर्दै निर्माता र व्यापारका कलेक्सन आँकडामा हल चलिरहेका बेला असान्दर्भिक भिन्नता हुन सक्ने बताउनुभयो । विज्ञको चेतावनी स्पष्ट छ-बक्स अफिस तथ्याङ्कमा हेरफेर गर्नुको दीर्घकालीन असर गम्भीर हुन सक्छ ।
यो प्रवृत्तिले नयाँ प्रतिभाका अवसर सङ्कुचित बनाउने, स्टारको पारिश्रमिक अनावश्यक रूपमा बढाउने र उद्योगको विश्वसनीयता झनै खस्काउने जोखिम हुन्छ । “दर्शक मूर्ख छैनन्, उनीहरू सत्य चिन्न जान्छन्”, वाध्वाले भन्नुभयो । यता, स्ट्रिमिङ प्लेटफर्मले पनि आफ्नो रणनीति कडाइ गर्दै बक्स अफिस तथ्याङ्कको अडिट अनिवार्य बनाउन थालेका छन् । यसले निर्मातालाई पारदर्शितातर्फ धकेलिरहेको छ । “स्ट्रिमर अब धेरै सावधान भइसके”, वाध्वाले भन्नुभयो ।
तर तिनै विशेषज्ञको निष्कर्ष के छ भने यो चलन चाँडै रोकिइहाल्ने कुनै सङ्केत छैन । निर्माता तथा स्टुडियोले ‘टिकट किनेर नम्बर बढाउने भोक’ छोड्ने दिन नआएसम्म बलिउडको यो आत्मघाती अभ्यास निरन्तर चलिरहने सम्भावना छ । रासस/एएफपी