संयुक्त राष्ट्रसङ्घ, मङ्सिर ३ गते । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्या मध्ये करिब आधा मानिस अहिले सहरमा बसोवास गर्छन् । ‘विश्व सहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार सहरी बन्दै गएको उल्लेख गरेको छ ।
सन् १९५० मा विश्वको जम्मा २० प्रतिशत जनसङ्ख्या मात्र सहरमा बस्थ्यो, तर अहिले यो दर बढेर ४५ प्रतिशत पुगेको छ । सन् १९७५ मा १० लाखभन्दा धेरै जनसङ्ख्या भएका ठुलो आकारका सहर आठ वटा मात्र थिए । सन् २०२५ सम्म आइपुग्दा ती सङ्ख्या बढेर ३३ पुगेका छन्, जसमा १९ वटा एसियामा पर्दछन् ।
प्रतिवेदनले इन्डोनेसियाको जाकार्तालाई विश्वकै सबैभन्दा धेरै बस्ती भएको सहर बताएको छ, जहाँ करिब ४२ लाखभन्दा बढी मानिस बसोवास गर्छन् । सन् २०५० सम्म यस्ता ठुलो आकारका सहरको सङ्ख्या ३७ पुग्ने अनुमान गरिएको छ । यद्यपि, प्रतिवेदनका अनुसार ठुलो सहरभन्दा साना र मध्यम आकारका सहरमा धेरै मानिस बसोवास गर्छन् र ती सहर अझ छिटो गतिमा बढिरहेका छन् ।
अध्ययनमा समावेश १२ हजार सहर मध्ये ९६ प्रतिशतमा १० लाखभन्दा कम जनसङ्ख्या छ, र ८१ प्रतिशतमा २.५ लाखभन्दा कम जनसङ्ख्या रहेको पाइएको छ । विश्वभरका सहरको सङ्ख्या सन् १९७५ देखि २०२५ सम्म दोब्बरभन्दा बढी बढेको छ । सन् २०५० सम्म यो सङ्ख्या १५ हजारभन्दा धेरै पुग्ने अनुमान छ, जसमा धेरै सहरमा २.५ लाखभन्दा कम जनसङ्ख्या रहने छ ।
साना बस्तीमा बस्ने जनसङ्ख्या सन् १९५० मा ४० प्रतिशत भए पनि सन् २०२५ सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको छ । ग्रामीण क्षेत्रमा बस्ने जनसङ्ख्या झरेर १९ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । पाँच हजारभन्दा बढी जनसङ्ख्या र पर्याप्त घनत्व भएका बस्ती ७१ देशमा सबैभन्दा सामान्य बस्ती प्रकार रहेका छन् ।
ग्रामीण बस्ती भने १९७५ मा ११६ देशमा मुख्य बस्ती प्रकार भए पनि अहिले ६२ देशमा मात्र सीमित छन् । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी ली जुनह्वाले भन्नुभयो, “सहरीकरण यो युगको निर्णायक शक्ति हो । यसको समावेशी र योजनाबद्ध व्यवस्थापनले जलवायु सुरक्षा, आर्थिक वृद्धि र सामाजिक समानताको नयाँ बाटो खोल्न सक्छ । त्यसैले प्रत्येक देशले आवास, भू–व्यवस्था, यातायात र सार्वजनिक सेवालाई सहर र गाउँ दुवै क्षेत्रमा मिलाएर अघि बढाउनुपर्छ ।” रासस/सिन्ह्वा