• ४ वैशाख २०८१, मङ्गलबार

२८ महिना बित्दासमेत अझै बनेन् आधारभूत अस्पताल

blog

४९ वटा अस्पताल अझै आएनन् प्रक्रियामा

काठमाडौँ, चैत ९ गते । सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भइसकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म १७ अस्पताल निमार्णको अन्तिम चरणमा रहेका छन् ।  

मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीका अनुसार अहिलेसम्म करिब ४९ पालिका अस्पताल अझै प्रक्रियामा आएका छैनन् । अहिलेसम्म  तीन सय ४७ वटा अस्पताल निर्माण प्रक्रियामा आएको डा. अधिकारीले जानकारी दिनुभयो । रिपोर्टमा आएका मध्ये ३२७ ले विस्तृत परियोजना प्रतिवेदन [डीपिआर] तयार भएको छ । डीपिआर तयार पारेका मध्ये ३२५ वटा अस्पतालको टेन्डर आव्ह्रन भएको थियो । मन्त्रालयका अनुसार अहिलेसम्म जम्मा ३०२ वटा अस्पतालका  सम्झौता भई बजेट निकासा भइसकेको छ । अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको काम गर्न मन्त्रालयले सबै स्थानीय तहहरूलाई परिपत्र गरेको डा.अधिकारीले जानकारी दिनुभयो ।  

तर,कतिपय स्थानीय तहले अझै जग्गा प्राप्त गर्न सकेका छैनन् । स्थानीय तहमा जग्गा विवाद, अस्पताल कहाँ बनाउने भन्ने स्थानको विवादका कारणले अस्पतालहरूको निर्माणमा ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।

अस्पतालका लागि जम्मा प्राप्त गरिसकेपछि मात्रै डीपिआर तयार हुन्छ । डीपिआर तयार भइसकेपछि प्रक्रिया अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । ‘डीपिआर स्वीकृत भएपछि अस्पताल निर्माणका लागि टेन्डरको सम्झौता हुन्छ । त्यसपछि बजेट निकास हुन्छ,’ मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारी बताउनुहुन्छ ।

प्रदेशस्तरमा हाल भएको प्रगति 

कोशी प्रदेश

कोशी प्रदेशमा अहिलेसम्म जम्मा ९६ वटा अस्पताल प्रक्रियामा आएका छन् । तीमध्ये ९४ वटा अस्पताल डीपिआर तयार गर्ने क्रममा छन् । ८० वटा अस्पतालमा बजेट निकासा भइसकेको छ ।

मधेस प्रदेश

मधेस प्रदेशमा अहिलेसम्म जम्मा ४७ वटाको मात्रै प्रक्रिया अगाडि बढेको छ । ३४ अस्पतालमध्ये ४२ वटाको डीपिआर तयार भएका छन् । मन्त्रालयका अनुसार ३७ वटा अस्पतालमा बजेट निकासा भएको छ ।

बाग्मती प्रदेश

सरकारले बागमती प्रदेशमा अहिलेसम्म ४९ वटा अस्पताल प्रक्रियामा आएका छन् । जसमध्ये ४६ वटा अस्पतालको डीपिआर तयार भएको छ । ४५ वटा अस्पतालमा बजेट निकासा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका ४० वटा अस्पताल प्रक्रियामा आएका छन् । ३८ वटा अस्पताल डीपिआर गर्ने क्रममा छन् । डिपिआर स्वीकृत भइसकेका ३८ वटा अस्पतालमा बजेट निकासा भएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका ४० वटा अस्पताल निर्माण प्रक्रियामा आएका छन् । तीमध्ये ४० वटा अस्पताल डीपिआर तयार भएका छन् । मन्त्रालयका अनुसार ३८ वटा अस्पतालमा बजेट निकासा भइसकेको छ ।

कर्णाली प्रदेश

कर्णालीमा अहिलेसम्म ३५ वटा अस्पतालको निर्माण प्रक्रिया आएका छन् ।२७ वटा अस्पतालको डीपिआर तयार भएका छन् । २७  वटा अस्पतालको सम्झौता भई बजेट निकासा भएको छ । 

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम ४० वटा आधारभूत अस्पताल निर्माण प्रक्रियामा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४० वटाको डीपिआर प्रक्रिया अगाडि बढेको छ  । ३७ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि बजेट निकासा भइसकेको छ ।

वि.सं. २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास गर्नुभएको थियो । 

सोही दिन सातै प्रदेशमा एक एक वटा सरुवा रोग अस्पताल निर्माण गर्ने भनेर प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभयो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले राखिएको थियो । पाँच शय्याको अस्पतालमा एक जना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालका लागि दुई जना मेडिकल अफिसरसहित १६ जना र १५ शय्याको अस्पतालमा तीन जना मेडिकल अफिसरसहित २७ जना स्वास्थ्यकर्मी खटिने स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

ती अस्पतालबाट आधारभूत उपचार स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रिया सहीको सेवा प्रदान गर्ने सरकारको दाबी छ । ३९६ स्थानीय तहमा भवन निर्माणका लागि ६ अर्ब १२ करोड र उपकरण जडानको लागि ५८ अर्ब खर्च हुने सरकारी अनुमान थियो । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।