काठमाडौँ, भदौ १९ गते । नेपालमा २८ हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारमा नआएको तथ्याङ्कले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अनुमान अनुसार ६८ हजार क्षयरोगीमध्ये २८ हजार बढी बिरामी उपचारमा नआएका हुन् ।
यता राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भने आर्थिक वर्ष २०८१/८२ मा ३९ हजार ११८ जनामा क्षयरोग पुष्टि भएको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रका अनुसार यो अवधिमा एक हजार २८० जना सङ्क्रमितको मृत्यु भएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा.श्रीराम तिवारी ठूलो सङ्ख्यामा बिरामी उपचारको दायरामा नआउँदा लक्ष्य पूरा गर्न चुनौती थपिने बताउनुहुन्छ ।
नेपालले सन् २०३५ सम्ममा प्रति एक लाख जनसङ्ख्यामा क्षयरोगीको सङ्ख्या १० र सन् २०५० सम्ममा सङ्क्रमितको सङ्ख्या एकभन्दा कममा झारेर रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ ।
क्षयरोगी सङ्ख्या कम गर्न लक्ष्य अनुसार रणनीति तय गरेर कार्यक्रम अगाडि बढाएको डा.तिवारीको दाबी छ।
क्षयरोगी सबैभन्दा बढी पुरुष
क्षयरोग पुष्टि भएका मध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । डा. तिवारीका अनुसार ५.६३ प्रतिशत १४ वर्षमुनिका बालबालिका छन् । क्षयरोग सबैभन्दा बढी मधेश प्रदेशबाट २५, बागमती २३, लुम्बिनी २० , कोशीमा १२ प्रतिशत छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ९, गण्डकीमा सात र कर्णालीमा चार प्रतिशतमा क्षयरोग पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ ।
६२५ मा डिआर टिबी पुष्टि
आर्थिक वर्ष २०८१/८२ मा ६२५ जनामा औषधी प्रतिरोधी क्षयरोगी (डिआर टिबी) पुष्टि भएका मध्ये ३९७ जना उपचारको दायरामा रहेको केन्द्रले जनाएको छ । डा. तिवारीका अनुसार २२८ जना डिआर क्षयरोगी उपचारको दायरा बाहिर छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा दुई हजार आठ सय औषधी प्रतिरोधी क्षयरोगी रहेको अनुमान गरेको छ । जथाभावी औषधी खाँदा वा पूर्ण औषधी नखाँदा डिआर टिबीका बिरामी बढ्दै गएको चिकित्सक बताउछन् ।
क्षयरोग कस्तो रोग हो ?
केन्द्रका छातीरोग विशेषज्ञ डा.नवीन प्रकाश शाहका अनुसार क्षयरोग माइको ब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म ब्याक्टेरियाबाट लाग्ने रोग हो । यो ब्याक्टेरियले विशेषगरी फोक्सोलाई असर गर्छ । क्षयरोगले ८० प्रतिशत फोक्सोमा सङ्क्रमण गर्छ । क्षयरोगले फोक्सो बाहेक अन्य अङ्गमा पनि असर गर्ने गर्ने चिकित्सक बताउँछन् ।
बिरामीले श्वास फेर्दा, खोक्दा हावामा सास लिँदा स्वस्थ मानिसमा कीटाणु सर्दछ । औषधी खान सुरु नगरेका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणु बाहिर निस्कन्छन् र निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुगेमा रोग लाग्न सक्ने डा.शाहको भनाइ छ । कुपोषित बालबालिका, धूमपान गर्ने व्यक्ति, मधुमेहका बिरामी, एचआइभी सङ्क्रमित यसको जोखिममा हुन्छन् ।
लक्षण
लगातार दुई हप्ता बढी खोकी लाग्ने, खानामा अरुचि हुने, तौल घट्दै जानु, कमजोर हुनु, साँझपख हल्का ज्वरो आउनु, पसिना आउनु, छाती दुख्नु, खकारमा रगत देखिनु क्षयरोगका प्रमुख लक्षण हुन् । समयमा उपचार नगरेमा मृत्युको जाेखिम हुन्छ ।
उपचार
लक्षण देखिनासाथ तुरुन्त जाँच गराएर स्वास्थ्यकर्मीको सल्लाह अनुसार नबिराइकन औषधी र पूरा समयसम्म सेवन गर्न डा.शाहको सुझाव छ । यसको औषधी कम्तीमा तीन महिनादेखि छ महिनासम्म सेवन गर्नुपर्छ । सरकारले यो रोगको उपचार निदान, उपचार निःशुल्क गर्दै आएको छ । यो रोगको औषधी डट केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ । यो राेग लाग्न नदिन सरकारले बच्चा जन्मनासाथ नि:शुल्क बिसिजी खोप लगाउँदै आएको छ ।