रमेश विश्वकर्मा
गुल्मी, चैत २२ गते । गुल्मीमा नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलन-२०८२ सम्पन्न गरेको छ। सदरमुकाम तम्घासको धागिथुमस्थित नेपाली सेनाको श्री रामवाण गुल्मको आयोजनामा गुल्मीका भूतपूर्व सैनिक र यस जिल्लाबाट पेन्सन लिइरहनुभएका छिमेकी जिल्ला प्युठान र अर्घाखाँचीका केहिँ भूतपूर्व सैनिकहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो।
पूर्व सैनिकहरुबीच समन्वय र अन्तरक्रिया गर्नुका साथै नयाँ सेवा तथा सुविधाको जानकारी गराउने उदेश्यसहित आइतबार आयोजना गरिएको भूतपूर्व सैनिक सम्मेलनमा श्री नम्बर २२ बाहिनी अड्डा, बुटवलका सहायक बाहिनीपति महासेनानी गौतमचन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। उक्त सम्मेलनमा ५६९ जना भूतपूर्व सैनिक,९६ जना एकल महिला गरी ६६५ जनाको उपस्थिति रहेको थियो।
सम्मेलनको अवसरमा एकजना अशक्त भूतपूर्व सैनिक फष्ट राइफल गणबाट २०६० पुस १५ गते अवकाश प्राप्त भूतपूर्व सैनिक यस जिल्लाका इस्मा गाउँपालिका वडा २ हस्तिचौरका ६४ वर्षीय पिपा हवलदार लिलबहादुर कुमाललाई प्रमुख अतिथि केसीले ह्विलचेयर प्रदान गर्नुभयो।
त्यस अवसरमा प्रमुख अतिथि केसीले भूतपूर्व सैनिकलाई देशको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय गौरवको रक्षामा आफ्नो जीवनको अमूल्य समय दिनुभएकोमा उच्च सम्मान व्यक्त गर्नुभयो।
त्यसैगरी सम्मेलनमा नेपाली सेनाको गौरव, विगत वर्तमान र भूतपूर्व सैनिकहरुको बारेमा चर्चा गरिएको थियो। यस गुल्मका गुल्मपति सुभाष थापा, सहायक गुल्मपति आर्जन राना, पदिक, बिल्लादार, अन्य दर्जा, भूतपूर्व सैनिक, एकल महिला लगायतको उपस्थितिमा गुल्मीमा भूतपूर्व सैनिक सम्मेलन-२०८२ सम्पन्न भएको हो।