• २२ चैत २०८२, आइतबार

तीनजुरे क्षेत्रमा फुल्न थाल्यो गुराँस (फोटो फिचर)

blog

तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा फुलेको गुराँस । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङ, तेह्रथम र सङ्खुवासभा जिल्लाको सिमानास्थित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुरास फुल्न थालेको छ । नयाँ वर्षको आगमनसँगै गुराँस फुल्ने समय भएको र अहिले टिएमजे क्षेत्रमा वनै ढकमक्क हुनेगरी गुराँस फुल्न थालेको हो ।

गुराँसको राजधानीका रुपमा परिचित पूर्वी नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य टिएमजे क्षेत्रमा गुराँस फुल्न थालेको छ । गुराँस फुल्न थालेसँगै अहिले टिएमजे क्षेत्रको वन गुराँसले ढकमक्क हुन थालेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो ।

अध्यक्ष ओझाका अनुसार टिएमजे क्षेत्रको सबैतिर गुराँस फूल्न थालेको छ । गुराँस फुलेर अहिले नै वन ढकमक्क हुन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको करिव दुई सातापछि अर्थात आउँदो बैशाख पहिलो साता सम्ममा टिएमजेको सबै क्षेत्रमा गुराँस फुलिसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

नेपालमा पाइने ३२ मध्ये टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइने बताइएको छ । राष्ट्रिय फूल लाली गुराँससहित सेतो, पहेँलो, गुलावीलगायत विभिन्न रङ्ग भएका गुराँस यस क्षेत्रमा पाइने गरिएको छ । यता फुल्न थालेसँगै टिएमजे क्षेत्रको भ्रमण गर्ने पर्यटकको उपस्थिति बाक्लिँदै गएको स्थानीयले बताएका छन् ।    

स्थानीयका अनुसार विभिन्न रङ्ग भएको ढकमक्क फुल्ने गुराँसको आकर्षणले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । गुराँस फुलेपछिको आकर्षक र मनोरम दृश्यमा आकर्षित हुँदै टिएमजे क्षेत्रमा पर्यटकहरु पुग्ने गरेका छन् । पर्यटन व्यवसायीका अनुसार टिएमजे क्षेत्रको भ्रमण गर्नेमा अधिकांस आन्तरिक पर्यटक रहेका छन् भारतबाट पनि धेरै पर्यटक टिएमजे क्षेत्रको भ्रमणमा आउने गर्दछन् ।

टिएमजे क्षेत्रमा अहिलेदेखि फुल्न थालेको गुराँस बैशाखभर अडिने गरेको स्थानीय बताउँछन् । यता गुराँस फुलेर नझरुन्जेलसम्म टिएमजे क्षेत्रमा पर्यटकले भ्रमण गर्ने गरेका बताइएको छ । गुराँसको सौन्दर्यसँगै सोही क्षेत्रभित्र रहेको पर्यटकीय गन्तव्यहरु गुफा पोखरी, बसन्तपुरस्थित लिम्बू समुदायको पहिचान र संस्कृति झल्किने चोलुङ पार्क लगायतमा पर्यटकको भिड लाग्ने स्थानीयको भनाइ छ ।