कमल शर्मा
दैलेख, भदौ २२ गते । निजामती दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयहरुमध्ये उत्कृष्ट सेवा प्रवाह गर्ने तीन कार्यालय प्रमुखलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले निजामती सेवा दिवसका अवसरमा तीन तहका तीन वटा उत्कृष्ट कार्यालय प्रमुख छनोट गरी पुरस्कृत गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखले उत्कृष्ट कार्यालय प्रमुखका लागी आवेदन माग गरे अनुसार जिल्लामा रहेका सङ्घ, प्रदेश र स्थानीय तहका ११ वटा कार्यालय प्रमुखले आवेदन दिए पनि विभिन्न मापदण्डका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित मूल्याङकन समितिले आर्थिक वर्ष २०८१-०८२मा सङ्घीय कार्यालय बाट जिल्ला कारागार दैलेखका जेलर लिलु गिरी, प्रदेशका कार्यालयबाट खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्रसुन्दर मल्ल, स्थानीय तहबाट दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकलाई उत्कृष्ट कार्यालय प्रमुखका रूपमा पुरस्कृत तथा सम्मान गरिएको छ ।
उत्कृष्ट कार्यालय प्रमुख छनोट समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले उत्कृष्ट कार्यालय प्रमुख छनोट गर्दा गत वर्षको वार्षिक प्रगति, बेरुजु फर्छ्याेट, कार्यालयको व्यवस्थापन, दरबन्दी अनुसारको कार्यालय व्यवस्थापन,कार्यालय प्रमुख र कर्मचारीको नियमितता, सूचना अधिकारी, गुनासो सुनाइ अधिकारी लगायतका मापदण्डका आधारमा उत्कृष्ट पाइएका कार्यालय प्रमुखलाई पुरस्कृत गरिएको बताउनुभयो । उहाँले सार्वजनिक सेवा प्रवाह, नागरिक बडापत्र, जिन्सी व्यवस्थापन, नियमित कर्मचारी बैठक, बिचौलियारहित सेवा प्रवाहका लागी भएका प्रयास, समन्वय, सहकार्य र आफ्नै प्रयासमा गरेका विभिन्न कुरालाई राखेर उत्कृष्ट कार्यालय प्रमुख छनोट गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, "उत्कृष्ट कार्यालय प्रमुखका रूपमा पुरस्कृत कार्यालय प्रमुखलाई जनही पाँच हजार र सम्मान पत्रले सम्मान गरिएको छ ।"
निजामती सेवा दिवस २०८२ का संयोजक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विकास,सुशासन,पारदर्शीतालाई प्रमुखता दिएर निजामती कर्मचारीले सेवा प्रवाह दिनु पर्ने बताउनुभयो । उहाँले सेवाप्रवाह गर्दा कुनै समस्या परेको खण्डमा त्यसको संरक्षण गर्ने र गलत गर्ने कर्मचारीलाई दण्डित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, अर्को आर्थिक वर्षमा उत्कृष्ट कार्यालय प्रमुखका लागी सङ्घका कार्यालय,प्रदेशका कार्यालय र स्थानीय तहका सबै कार्यालय प्रमुखले आफूलाई योग्य बनाएर दाबी पेस गर्नुहुनेछ ।
निजामती दिवसको अवसरमा आयोजना गरिएको कविता वाचन प्रतियोगितामा खगेन्द्रप्रसाद रिजालको भै राष्ट्रको सेवक प्रथम, लक्ष्मीकुमारी उपाध्यायको निजामती सेवा द्वितीय, साधना तिवारीको पोशाकमा देखिने देश तृतीय र शिवराज रुपाखेतीको स्वच्छ सबल प्रशासन कविताले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई क्रमशः पाँच हजार,तीन हजार, दुई हजार र प्रमाणपत्रसमेत प्रदान गरिएको छ । त्यस्तै निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको थियो ।