काठमाडौँ, भदौ २२ गते । अमेरिकाको भन्सार नीतिका कारण नेपाली तयारी पोसाक र पस्मिनाको निर्यात बढ्ने देखिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारत, भियतनाम र बङ्गलादेशमा लगाएको भन्सार महसुलका कारण त्यसको फाइदा नेपालले लिन सक्ने देखिएको हो । केही देशका उद्योगी व्यवसायी नेपालमा लगानीको सम्भावना बुझ्न आउन थालेका छन् ।
अमेरिकाले केही समयअघि भारतलाई ५० प्रतिशत, बङ्गलादेश र भियतनामलाई २०/२० प्रतिशत भन्सार महसुल लगाएको छ । यस्तै नेपाल र भुटानलाई लगाइएको भन्सार महसुल दर १०/१० प्रतिशत छ ।
यस आधारमा भारत, बङ्गलादेश र भियतनामबाट अमेरिकामा निर्यात हुने तयारी पोसाक, गलैँचा कार्पेट, जडीबुटी, पस्मिनालगायतका वस्तु निकै महँगो हुने भएको छ । यस कारण नेपालबाट ती वस्तुको निर्यात बढ्ने देखिएको हो । चर्काे भन्सार महसुलका कारण उत्पादनको लागत महँगो पर्दा अमेरिकी बजारमा सामान निर्यात हुन समस्या हुन्छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिका कारण बजार हिस्सा गुमाउने डरले गर्दा भारतसहित तीन मुलुकका तयारी पोसाक र गलैँचा उद्योगीले नेपालमा लगानी गर्न इच्छा देखाएको नेपाल तयारी पोसाक सङ्घले जनाएको छ । सङ्घका अनुसार नेपालबाट निर्यात गर्दा भारत, बङ्गलादेश र भियतनामको तुलनामा निकै सस्तो पर्ने भएकाले ती मुलुकले नेपालको तयारी पोसाक, गलैँचा, जुत्ता र जडीबुटी उद्योगमा लगानी गर्न चासो देखाएका हुन् ।
व्यापार विज्ञ रविशङ्कर सैँजूले अमेरिकी भन्सार नीतिका कारण नेपालले लाभ लिने ठाउँ भए पनि त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । निर्यात बढाउन स्वदेशी वस्तुको उत्पादनसँगै उत्पादकत्व वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
सरकारले लजिस्टिक पूर्वाधारसँगै व्यापार सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ । अमेरिकाको यो नीति कति समयसम्म जान्छ भन्ने निश्चित नभए पनि यसले अमेरिकामा नेपाली वस्तुको निर्यात जतिबेला पनि बढाउन सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकी भन्सार नीतिले नेपाली तयारी पोसाकलाई निर्यात बढाउने ठुलो अवसर प्रदान गरेकाले यसको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । अमेरिकी ‘ट्यारिफ’ बाट लाभ लिन लगानीको अभाव हुने मन्त्री भण्डारीले दाबी गर्नुभयो । विश्व बजारमा नेपाली उत्पादनको छुट्टै पहिचान भएकाले निर्यात बढाउन नगद अनुदानको व्यवस्था गरिने मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले भारत र बङ्गलादेशका एक सयभन्दा बढी व्यापारी गार्मेन्ट उद्योगमा विदेशी लगानी भित्र्याउन नेपाल आएको जानकारी दिनुभयो । गलैँचा, जुत्ताचप्पल, पस्मिना, जडीबुटीमा विदेशी लगानी गर्ने भनेर व्यापारी अध्ययन गर्न आएको उहाँले जानकारी दिनुभयो । केही व्यापारी उद्योगको क्षमता वृद्धि गर्ने प्रस्ताव गरेको उहाँको भनाइ छ । भन्सार नीतिले अमेरिकामा तयारी पोसाक, जुत्ता, छुर्पी, फेल्ट, पस्मिनाको निर्यात बढाउन सकिने बताउनुभयो ।
“आव २०८१/८२ मा नौ अर्ब ९४ करोड रुपियाँको तयारी पोसाक निर्यात भयो,” अध्यक्ष पाण्डेले भन्नुभयो, “सरकारले लगानीको वातावरण बनाए एक सय गुणा निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिन्छ ।”
निर्यात वृद्धि गर्न उत्पादन क्षमता बढाउन सस्तोमा ऋण, विशेष आर्थिक क्षेत्रमा पूर्वाधार निर्माण, गैरकानुनी व्यापार नियन्त्रण गर्नुपर्ने, रुग्ण भएका उद्योग सञ्चालन, निर्यातमा नगद अनुदान र कच्चा पदार्थ आयातमा सहजीकरण भए तीनदेखि पाँच वर्षमा निर्यात एक सय गुणाले बढाएर बढ्दो व्यापार घाटा कम गर्न सकिने पाण्डेको भनाइ छ ।
तयारी पोसाकका लागि स्थानीयस्तरमा कच्चा पदार्थको अभाव हुँदा बाहिरी मुलुकबाट आयात हुने गरेको छ । भारतीय उद्योगीले नेपालमै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र नेपालमा भएकै उद्योगलाई माग अनुसार अर्डर दिएर तयारी पोसाक र गलैँचा उत्पादन गर्न लगाउने विषयमा छलफल भइरहेको पाण्डेले जानकारी दिनुभयो । व्यवसायीका अनुसार अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउँदा पनि नेपाललाई निकै फाइदा छ, त्यसलाई घटाएर २९ प्रतिशत कायम गर्दा पनि नेपाललाई लाभ नै हुने छ ।
सङ्घका अनुसार अमेरिकी चर्को भन्सार शुल्कका कारण भारत, बङ्गलादेशको निर्यात बजार प्रभावित हुने भएपछि नेपाली तयारी पोसाक र गलैँचा उद्योगीहरूले उद्योगको स्तरोन्नति गर्न थालेका छन् ।
भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा २५ अर्ब ९६ करोड ५६ लाख ९८ हजार रुपियाँको आयात हुँदा १८ अर्ब ३२ करोड ७४ लाख रुपियाँको निर्यात भएको छ । अमेरिकामा सात अर्ब ६४ करोड ४९ लाख ५४ हजार रुपियाँ व्यापार घाटा रहेको छ ।