काठमाडौँ, भदौ २१ गते । आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।
नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ ।
बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची (नेपाली समय अनुसार) :
विरल छायाँले ढाक्न सुरु गर्ने : २२ गते राति ९ः१३ बजे
खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे
ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे
खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे
विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे
जम्मा अवधिः ५ घण्टा २७ मिनेट
चन्द्रग्रहण देखिने कारण
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वी बीचमा आउँछ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो घटना पूर्णिमाको रातमै हुने गर्दछ ।
अवलोकन र प्रभाव
चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ ।