हरिप्रसाद कोइराला
उर्लाबारी, असोज १४ गते । नेपाली कांग्रेसका नेता मोरङ ३ का निवर्तमान सांसद डा. सुनिलकुमार शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ ।
मङ्गलबार बेलुकी यूएईमा हुने खेलको अन्त्यमा २० लाख रुपियाँको चेक मैदानमै हस्तान्तरण गर्ने कार्यक्रम तय भएको डाक्टर शर्माले गोरखापत्रलाई जानकारी दिनुभयो ।
दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई नेपालले जितेको अवसरमा डा. शर्माले नेपाली क्रिकेट टिमको सम्मानमा उक्त रकम दिने निर्णय गर्नुभएको हो ।
यस अवसरमा डा. शर्माले नेपालको नाम उच्च बनाइरहेका खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको उत्साह र हौँसला अझ बलियो बनाउन योगदान पुग्ने घोषणा गर्नुभयो । सोमबार भएको नेपाल–वेस्ट इन्डिजको खेलमा खेल हेर्न डा। शर्मा युएईको सारजाँ क्रिकेट रङ्गशाला पुग्नु भएको थियो ।
नेपालले यूएईमा जारी नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजमा शानदार प्रर्दसन गर्दै एक खेल अगावै युनिटी कपको सिरिज जितिसकेको छ । आज हुने अन्तिम खेल पनि नेपालले जितेमा सिरिज क्लिन स्विप गर्दै अर्को इतिहास रच्नेछ ।