• १४ असोज २०८२, मङ्गलबार

निकुञ्जभित्रको बाटो निर्माण रोक्का

blog

चितवन राष्ट्रिय निकुञ्जभित्रबाट माडी नगरपालिकातर्फ जाने बाटो । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असोज १४ गते । जेनजी समूहको आन्दोलनका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक विस्तार गर्ने गरी भएको सहमतिका विषयमा छानबिन हुने भएको छ । भदौ २४ गते देशभर स्थानीय पालिका तथा सरकारी कार्यालयमा आगजनी गर्दा माडी नगरपालिकाले आन्दोलनलाई साम्य पार्न निकुञ्जभित्रको बाटो विस्तार गर्ने निर्णय गरेको थियो । 

माडीका जनप्रतिनिधि र युवा तथा स्थानीय सबैको सहकार्यमा निकुञ्जभित्र गरिएको सडक विस्तारको काम अवैधानिक भएको भन्दै निकुञ्ज कार्यालयले रोकेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत जैविक विविधताले संवेदनशील क्षेत्रमा हुलहुज्जत गरी सडक विस्तार गरिएको भन्दै निकुञ्ज कार्यालयले रोकेको हो । 

निकुञ्जले सडक विस्तारको काम मात्र रोकेको छैन, सडक विस्तारका  क्रममा भएको गतिविधिको छानबिन गर्न अलग्गै समिति गठन गरेर अध्ययन थालेको छ । भरतपुरबाट माडी नगरपालिका जान चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने हुन्छ । निकुञ्जभित्रको सडक कच्ची भएको, धेरै रुखले गर्दा यात्रा गर्न असजिलो भएको भन्दै स्थानीयले व्यवस्थित सडक निर्माणको माग गर्दै आएका छन् । 

आन्दोलनका क्रममा स्थानीय पालिकामा आगजनी गर्न हुल बाँधेर आउँदा जनप्रतिनिधिले पालिकामा क्षति होइन, बाटो विस्तार गरौँ भन्दै आग्रह गरेको थियो । माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले भन्नुभयो, “निकुञ्जसँग सहकार्य गरेर मात्र बाटो मर्मत गर्ने र दसैँ लागेकाले पनि बाटोको काम नभएको हो ।” नौ किलोमिटर निकुञ्जभित्रपर्ने सडकमा करिब सात किलोमिटर पालिकाको अगुवाइमा कालोपत्रे गर्ने तयारी गर्दै बेस निर्माण गरिएको छ । उच्चस्तरीय ग्राभेल गरी सडक विस्तार गरिएको हो । 

नगरप्रमुख महतोले आउँदा दिनमा निकुञ्ज प्रशासनको अनुमतिमा सडकको मर्मत तथा विस्तारको काम गर्ने तयारी भएको जानकारी दिनुभयो । चाडपर्व सकिएपछि सहकार्यमा काम अगाडि बढाउने तयारी रहेको उहाँले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जेनजी समूहको आन्दोलनमा पालिकामाथि हुने क्षति कम गर्नका लागि सडक मर्मत गर्न अनुमति दिएको बताउनुभयो । मर्मतका लागि अनुमति दिए पनि निकुञ्जको संवेदनशीलतालाई ध्यान नदिई अन्य गतिविधि गरेकाले सडकको काम रोकिएको हो । 

“हरेक वर्ष खाल्डो भएको सडकमा मर्मत गरिँदै आएको थियो । त्यसमा हामीले अनुमति दिएका थियौँ,” उहाँले भन्नुभयो, “अहिलेको आन्दोलनका व्रmममा निकुञ्जभित्र सडक मर्मतको नाममा केही रुखसमेत काटिएको भन्ने सूचना आएपछि हामीले सडक मर्मत रोकेर अवस्थाको विषयमा अध्ययन गरेका छौँ ।” 

निकुञ्जले अध्ययन टोलीनै खडा गरेर यस विषयमा विस्तृत प्रतिवेदन दिएपछि थप अगाडि बढ्ने तयारी भएको प्रमुख पन्तले जानकारी दिनुभयो । “अहिले बाटो मर्मत रोकेका छौँ, अध्ययन प्रतिवेदनले के भन्छ, त्यही अनुसार काम अगाडि बढाउछौँ,” उहाँले भन्नुभयो । 

निकुञ्जको कसरादेखि माडी निस्किने वनकट्टासम्म नौ किलोमिटर जङ्गल क्षेत्र पर्छ । माडी नगरपालिका चारैतिर निकुञ्जले घेरिएको छ । यात्रा गर्न निकुञ्जभित्रको सडक कच्ची भएका कारण सहज नभएको भन्दै स्थानीय असन्तुष्ट रहेका छन् । हरेक पटक निर्वाचनमा निकुञ्जको बाटोको विषयमा कुरा उठे पनि विजयी प्रतिनिधिले कुनै सम्बोधन नगर्दा स्थानीय आव्रmोशित हुँदै आएका छन् ।