• १४ असोज २०८२, मङ्गलबार

नेपालीको रोजाइमा पर्न छाडे तिब्वती भेडा–च्याङ्ग्रा

blog

मुस्ताङबाट बिक्रीका लागि बजारमा ल्याइएका तिब्बती च्याङ्ग्रा । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), असोज १४ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्डका च्याङ्ग्रापालक कृषक निमा गुरूङले विगतका बर्षमा चिनियाँ च्याङ्ग्राको अधिक माग हुने गरे पनि यस पटक ग्राहकको रोजाइमा नपरेको बताउनुहुन्छ । 

विगत लामो समयदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरूङले तिब्वतबाट भित्रिने च्याङ्ग्रा बिक्री हुन छोडेपछि यसपटक उपल्लो मुस्ताङका ब्यापारीले खरिद नगरेको बताउनुभयो । 

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुँदै कोरला नाकाबाट भित्रिने च्याङ्ग्रा चरन क्षेत्रमाभन्दा धेरै खोरभित्र दानापानी खुवाएर हुर्काउने गरिएकाले मुस्ताङको तुलनामा स्वादिलो नभएकाले उपभोक्ताको रोजाइमा नपरेको कृषक गुरूङले बताउनुभयो । 

गुरूङ भन्नुहुन्छ, ‘‘हामीले तिब्वतबाट भेडा च्याङ्ग्रा लिन छोड्यौं, उताबाट ल्याउँदा परेको मूल्यअनुसारको कमाई पनि हुँदैन ।’’ तिब्वतबाट भित्रिने भेडा च्याङ्ग्रा लामो समयसम्म खोरमा राखिएकाले पैदल मार्गबाट लैजादा नहिड्ने तथा मुस्ताङको बथानबाट अलग हुने समस्या समेत रहेको ब्यापारीको भनाइ छ । 

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरका कृषक आङ्ग्याल गुरूङले तिब्वतबाट भित्रिने भेडा च्याङ्ग्राको तुलनामा मुस्ताङको स्वादिलो हुनुमा चरन, गोठ सुधारका साथै नियमित लगाइने विभिन्न खोप प्रमुख कारण भएको बताउनुभयो । कृषक गुरूङ भन्नुहुन्छ, ‘‘नाका सहज भएका मुस्ताङका च्याङ्ग्रालाई तिब्वती बजारमा पठाउन सकिन्छ, ठूलो भए पनि उताबाट आउनेको स्वाद यहाँको जस्तो छैन ।’’ 

विगतमा मुस्ताङ र तिब्वतका ब्यवसायीले बार्टर अर्थात वस्तु साटासाट गर्ने प्रचलन रहेको थियो । चिनियाँले खाद्यान्नसहित पस्मिनाका सामग्री दिएपछि उताबाट भेडाच्याङ्गा आउने चलन रहेको थियो । पछिल्लो समय तिब्वती ब्यापारीले नगदमै कारोबार गर्न खोजेपछि मुस्ताङीले आफ्नै खोर विस्तारसहित उत्पादन बढाएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काकाअनुसार यसबर्ष दसैंलाई लक्षित गरी नाकाबाट साढे पाँचसय च्याङ्ग्रा भित्रिएको बताउनुभयो । विगतमा धेरै आउने गरेको स्थानीयले बताए पनि भन्सार जाँचपाच गरी भित्रिएको बाहेक अन्य उपल्लो मुस्ताङ क्षेत्रका अन्य नाकाबाट प्रवेशको सम्भावना न्यून रहेको प्रमुख खड्काको भनाइ छ । 

मुस्ताङका ब्यापारीले तिब्वतबाट भेडाच्याङ्ग्रा ल्याउन छोडेपछि डोल्पाको मोरिम्ला, हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना लगायतका नाकाबाट भित्रिएका भेडाच्याङ्ग्रा मुस्ताङको बाटो हुँदै आउने गरेको पाइन्छ । 

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणी अर्यालले कर्णाली प्रदेशका जिल्लाबाट मुस्ताङ हुँदै बाहिरिने भेडा च्याङ्ग्रामा ब्यापारीले चीनबाट ल्याएको समेत मिसाउने सम्भावना भए पनि ब्यापारीले मुस्ताङमा हुर्किएकालाई पहिलो प्राथमिकता दिने गरेको पाइएको बताउनुभयो । 

यसबर्ष मुस्ताङका छसय ७५ भेडा (च्यालु), ७ हजार २ सय १ च्याङ्ग्रा, डोल्पाबाट ५ हजार ९ सय, जुम्लाबाट ७ सय ७५, मुगुबाट ५ सय र तिब्वत हुदै कोरला नाकाबाट भित्रेका ५ सय ५० भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएको थियो । समुन्द्री सतहदेखि २५ सय मिटरभन्दा माथिको उचाइमा कठोर हावापानीमा जडिबुटी खाएर करिब ३ देखि ५ बर्षसम्म हुर्किएका च्याङ्ग्रा स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने उपभोक्ताको भनाइ छ । मुस्ताङमा  यसबर्ष भेडाच्याङ्ग्रा बिक्रीबाट ३६ करोड ५० लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ ।