दुबई, भदौ २२ गते । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन ।
यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबलहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब दिने प्रयासको रूपमा व्याख्या गरेका छन् । यद्यपि हुथीहरूले विगतमा यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गरेका थिए ।
स्याटेलाइट जडान र भूमिगत केबलहरूसँगै अन्डरसी केबलहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया, इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन्, जसले कुनै एक असफल भएमा ट्राफिकलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ ।
माइक्रोसफ्टले आफ्नो स्थिति वेबसाइटमार्फत घोषणा गर्दै मध्यपूर्वले ‘लाल सागरमा अन्डरसी फाइबर कटका कारण बढेको विलम्बता अनुभव गर्नसक्ने बताएको छ । वासिङ्टनस्थित कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्व बाहेकको ट्राफिक प्रभावित नभएको स्पष्ट पारेको छ ।
इन्टरनेट पहुँच अनुगमन गर्ने नेटब्लक्सले ‘लाल सागरमा सबसी केबल आउटेजको शृङ्खलाले भारत र पाकिस्तानसहित धेरै देशहरूमा इन्टरनेट कनेक्टिभिटी बिगारेको बताएको छ । संस्थाले यसका लागि ‘साउदी अरबको जेद्दानजिकै एसएमडब्लु४ र आइएमइडब्लुई केबल प्रणालीमा देखिएका विफलताहरू’ लाई जिम्मेवार ठहराएको छ ।
दक्षिणपूर्वी एसिया–मध्यपूर्व–पश्चिमी युरोप ४ केबल भारतीय समूह टाटा कम्युनिकेसनले सञ्चालन गर्छ । भारत–मध्यपूर्व–पश्चिमी युरोप केबल भने अल्काटेल–लुसेन्टको निरीक्षणमा अर्को कन्सोर्टियमद्वारा सञ्चालित छ । तर दुवै कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल) ले शनिबार नै विज्ञप्ति जारी गर्दै कटौती भएको पुष्टि गरिसकेको छ । तर साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा अवरोधलाई स्वीकार गरेको छैन ।
संयुक्त अरब इमिरेट्स (युएई) मा दुबई र अबुधाबीका प्रयोगकर्ताहरूले राज्य स्वामित्वका डु र एतिसालात नेटवर्कमार्फत इन्टरनेट सुस्त भएको गुनासो गरेका छन् । तर सरकारले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
सबसी केबलहरू जहाजका लङ्गर खस्दा काटिन सक्ने भए पनि यस्ता घटनामा लक्षित आक्रमणको सम्भावना पनि रहन्छ । क्षतिग्रस्त केबल मर्मत गर्न प्रायः हप्तौँ लाग्छ र जहाजले समुद्रको पिँधमा काटिएको स्थान पहिचान गर्नुपर्छ ।
गाजा पट्टीमा इजरायल–हमास युद्धलाई लिएर यमनका हुथी विद्रोहीहरूले हालै शृङ्खलाबद्ध आक्रमण चालेका थिए । इजरायलले यसलाई हवाई आक्रमणमार्फत जवाफ दिएको थियो, जसमा विद्रोही नेताहरू मारिएका थिए ।
सन् २०२४ को प्रारम्भमै निर्वासनमा रहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले लाल सागरका समुद्री केबलहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो । त्यतिबेला पनि केही केबल काटिएका थिए, तर विद्रोहीहरूले जिम्मेवारी लिएका थिएनन् । आइतबार बिहान हुथीहरूको अल–मासिराह स्याटेलाइट समाचार च्यानलले नेटब्लक्सलाई उद्धृत गर्दै कटौती भएको स्वीकार गरेको छ ।
सन् २०२३ नोभेम्बरदेखि सन् २०२४ डिसेम्बरसम्म हुथीहरूले गाजा युद्धसँगै एक सयभन्दा बढी जहाजहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएका थिए । ती आक्रमणमा अहिलेसम्म चारवटा जहाज डुबाइएका छन् र कम्तीमा आठ नाविकको मृत्यु भएको छ ।
इरान समर्थित हुथीहरूले छोटो युद्धविराम अवधिमा आक्रमण रोकेका थिए । तर त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा एक सातासम्म तीव्र हवाई आक्रमण चलाइएको थियो । त्यसक्रममा हुथीहरूले दुई जहाज डुबाएका थिए, जसमा चार जनाको मृत्यु भएको थियो भने अन्य केही नाविकलाई विद्रोहीहरूले कब्जा गरेको विश्वास गरिन्छ ।
हुथीहरूको नयाँ आक्रमणबिच इजरायल–हमास युद्धमा सम्भावित नयाँ युद्धविरामबारे छलफल भइरहेका छ । त्यस्तै, इजरायलले हालै १२ दिन लामो युद्ध सञ्चालन गर्दै अमेरिकी सहयोगमा इरानका तीन वटा आणविक साइटमा बम प्रहार गरेपछि तेहरानको आणविक कार्यक्रमबारे वासिङ्टन–तेहरान वार्ताको भविष्य पनि अनिश्चित बनेको छ । रासस/एपी