गोदावरी (ललितपुर), भदौ २२ गते । ललितपुरको गोदावरीमा जारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ ।
विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो । कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ । प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् ।
शनिबार दिनभर छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य सुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो । सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको लामाले स्पष्ट पार्नुभयो । “प्रतिवेदन टोलीनेताले हलमा सार्वजनिक गर्नुहुने छ,” लामाले जानकारी दिनुभयो ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले शनिबार सबै समूहले छलफल विमर्श सकेर आइतबार प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने उल्लेख गर्नुभयो । समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी भएको गौतमले जानकारी दिनुभयो । सकेसम्म सबैलाई सुझाव समेटेर एकीकृत रूपमा पार्टी विधान तयार गरिने बताउँदै गौतमले प्रस्ताव पारित गरेर एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सक्ने तयारी भइरहेको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदनसँगै विभिन्न परिषद्का प्रतिवेदनमाथि १० समूहले छलफल विमर्श गरेका थिए ।
महाधिवेशनमा शनिबार भएको विमर्श र आइतबार हुने समूहगत विमर्शलाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ । राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएका विषय मुलुकको वर्तमान राजनीतिक परिदृश्य, सङ्घीयता, आर्थिक अवस्था र सरकार सञ्चालनका सवालमा विस्तृत बहस भएको र त्यो समूहको नेतामार्फत सार्वजनिक हुने नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष राजन भुर्तेलले जानकारी दिनुभयो ।
त्यस्तै साङ्गठनिक प्रतिवेदनले पार्टीभित्रको सदस्यता विस्तार, सङ्गठनात्मक संरचना, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनबारे छलफललाई केन्द्रमा राख्ने छ । विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिने छ ।
एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने बताइएको छ । यही कारण पनि प्रत्येक समूहमा हुने छलफललाई केन्द्रीय नेतृत्वले महत्वका साथ हेरेको छ भने उत्कृष्ट सुझाव बनाउन समूहका नेता सक्रिय बनेर प्रतिवेदन लेखनमा क्रियाशील बनेको प्रचार विभागका प्रमुख गौतमले बताउनुभयो ।
नेपाली विशेषताको समाजवाद
सोभियत मोडेलभन्दा फरक तर नेपाली विशेषताको समाजवाद ल्याउनका लागि एमालेको विधान महाधिवेशनमा छलफल भएको छ । दोस्रो विधान महाधिवेशनमा प्रस्तुत नेपाली विशेषताको समाजवाद शीर्षकको दस्ताबेजमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा ल्याइने समाजवादको स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ ।
अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी नेपालको विशेषतामा कस्तो हुन्छ भन्ने पनि उल्लेख गर्नुभएको छ । दस्ताबेजमा ओलीले बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने र एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिने भन्नुभएको छ । दस्ताबेजमा कम्युनिस्ट पार्टीबारे उहाँले उल्लेख गर्नुभएको छ, “विश्व कम्युनिस्ट आन्दोलन र समाजवादी प्रणालीका अनुभवलाई ध्यानमा राख्दै कम्युनिस्ट पार्टीलाई निरन्तर जनताको बिचमा स्थापित गर्ने, जनताको सुखदुःखको साथी र सच्चा प्रतिनिधिका रूपमा यसको चरित्रलाई अक्षुण्ण राख्ने, राज्यको नेतृत्व गरिरहँदा उत्पन्न हुन सक्ने भ्रष्टाचार र नोकरशाहीको जोखिमबाट बचाउन निरन्तर शुद्धीकरण गरिने छ ।”
कम्युनिस्ट पार्टीलाई नेपाली इतिहासका गौरवपूर्ण पक्षहरू, संस्कृतिका जीवन्त आयामहरू र नेपालीपनलाई प्रवर्धन गर्ने साधकका रूपमा विकास गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । समाजवादलाई कुनै आकस्मिक, पराई या शून्यबाट सृजित व्यवस्था होइन, नेपाली इतिहासका हजारौँ वर्षको विकासको स्वाभाविक परिणतिका रूपमा, त्यसको निरन्तरता र उत्तराधिकारीका रूपमा विकास गरिने उहाँले भन्नुभएको छ ।
फरक मतलाई समूहमा छलफल गर्न आग्रह
विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।
बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गर्नुभएको हो । अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधिले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गर्नुभयो ।
उक्त आग्रहपछि अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरू पर्चामार्फत हलमा वितरण गर्नुभएको थियो । शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तबेज प्रस्तुत गर्नुभएको थियो । दोस्रो दिन शुक्रबार केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव बडालले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
बहस नोटमा भट्ट
समूहको टोलीनेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । जसमा सदस्यहरू स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहनुभएको छ ।
प्रस्ताव तयार समिति संयोजकमा भट्टराई
दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न पार्टी सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति बनाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार सो समिति घोषणा गर्नुभएको हो । समितिको अन्य सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्य उषाकला राई, सिर्जना काफ्ले र माधव ढुङ्गेल रहनुभएको छ । समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक भट्टराईले बताउनुभयो ।