• २३ भदौ २०८२, सोमबार

रसियाबाट युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार

blog

युक्रेन–रुस युद्ध : रूसी आक्रमणबाट युक्रेनको राजधानी किभमा भएको ड्रोन र मिसाइल आक्रमणपछि एक आवासीय भवनमा लागेको आगो निभाउन दमकलकर्मी प्रयत्नरत । तस्बिर : ओलेक्सान्द्र म्यागुला/एएफपी

 किभ, भदौ  २२ गते । युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर–क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनाले जनाएको छ ।

यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागीसमेत भएको बताइएको छ । आपतकालीन सेवाका कर्मचारीहरू आगो नियन्त्रणमा लिनका लागि अहोरात्र खटिएका छन् ।

प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भन्नुभयो,“युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ ।”

प्रधानमन्त्री स्विरिदेन्कोका अनुसार राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता शहरहरूमा पनि क्षति पुगेको छ ।

युक्रेनको आपतकालीन सेवा विभागले  राजधानी किभमा भएको हमलाका कारण एक आमासहित दुई महिनाका शिशुको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको जनाएको छ भने २० जनाभन्दा बढी नागरिकहरू घाइते भएका छन् । रासस/सिन्ह्वा