लतिलपुर, भदौ २२ गते । ललितपुर महानगरपालिका–२५, नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रमलाई यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ ।
सो कोषले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तुलसी फाउन्डेसनद्वारा सञ्चालित सो आश्रमकी अध्यक्ष सरु सुवेदीलाई एक लाख नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको हो ।
साथै सोही कार्यक्रममा उक्त फाउन्डेसनलाई आयमूलक कार्यमा सहयोग पुग्ने गरी एक लाख ५० हजार संस्थागत सहयोग पनि प्रदान गरिएको थियो । विसं २०७५ मा स्थापित तुलसी फाउण्डेसनद्वारा सञ्चालित सो आश्रममा हाल ४५ जना अनाथ बालबालिका तथा बेसहारा ज्येष्ठ नागरिकहरु छन् । संस्थाले कैयौँ अनाथ र असहायहरुलाई समाजमा पुनस्र्थापना पनि गरेको छ ।
त्यसैगरी, सोही कार्यक्रममा चाँगुनारायणस्थित मानव कल्याण समाज (सेवा घर), अनाथ असहाय बाल सुधार समाज, देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, गामबेसीका चेपाङ संरक्षण केन्द्रलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले ती पुरस्कार प्रदान गर्नुभएको थियो ।