• २२ भदौ २०८२, आइतबार

चन्द्रग्रहणबारे शास्त्रीय मान्यता

blog

ग्रहण सर्वसाधारण मानिसका लागि बिरलै हुने रोमाञ्चकारी घटना हो । खगोलविद् वैज्ञानिकका लागि आफ्ना विभिन्न सिद्धान्त तथा गणितीय गणना परीक्षण गर्ने यो एउटा सुनौलो अवसर पनि हो । विश्वप्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्धान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहणका बेलामा गरेका थिए । सूर्य, पृथ्वी र चन्द्रमाको दुरी निर्धारण गर्न पनि ग्रहणले स्पष्टता दिएको हामीले बिर्सन हुँदैन । सूर्यग्रहण वा चन्द्रग्रहणका बेलामा प्रकाशमा हुने परिवर्तन तथा विभिन्न किरणको अध्ययनमा पनि ग्रहण उपयोगी हुने गर्छ । 

पहिले पहिले ग्रहण एउटा डरलाग्दो अपशकुनका रूपमा लिने गरिन्थ्यो । चिनियाँ ग्रहणलाई ड्र्यागनसँग जोडेर डरलाग्दो घटना बनाउने गर्दथे भने रोम, हङकङ, अमेरिका, रुस, ग्रिस जस्ता मुलुकमा अझै पनि ग्रहणसम्बन्धी विभिन्न खाले विश्वास रहेको पाइन्छ । भारत तथा नेपालमा ग्रहणका बेलामा ढ्याङ्ग्रो ठटाउँदै छोड चमरे छोड भनेर कराउने प्रचलन अझै छँदै छ । 

पृथ्वीका मानिसका लागि ग्रहण दुइटा हुने गर्छन् । सूर्यग्रहण र चन्द्रग्रहण । एक वर्षमा दुइटा चन्द्रग्रहण तथा पाँच वटा सूर्यग्रहण अथवा चार वटा चन्द्रग्रहण तीन वटा सूर्यग्रहण गरी एक वर्षमा जम्मा सात वटासम्म ग्रहण पर्न सक्छन् । हामीलाई एक वर्षमा चन्द्रग्रहण धेरै वटा लागेको जस्तो भान भए पनि सूर्यग्रहण नै धेरै लाग्ने गर्छ । यद्यपि चन्द्रग्रहण एकै पटकमा धेरै मानिसले देख्न सक्छन् भने सूर्यग्रहण एक पटकमा पृथ्वीका केही मानिसले मात्र देख्न सक्छन् । 

पृथ्वीको वरिपरि चन्द्रमा हिँड्ने गर्छ । चन्द्रमा हिँड्ने बाटो डटपेनको स्प्रिङ जस्तो हुन्छ । यसले पृथ्वी हिँड्ने बाटोलाई दुई ठाउँमा काटेको हुन्छ, माथिपट्टिको प्रतिच्छेदन विन्दुलाई राहु भन्ने गरिन्छ भने तल्लो प्रतिच्छेदन विन्दुलाई केतु भन्ने गरिन्छ । राहुका कारणले ग्रहण लाग्छ भनेर पुराणदिमा भनिएको छ । सो कुरालाई कसरी पुष्टि गर्न सकिन्छ भने ग्रहण गणना गर्दा ती दुई विन्दुको पनि गणना तथा विचार गर्नुपर्ने भएकाले राहुले ग्रहण गराउँछ भन्ने कुरा केही पुष्टि हुन जान्छ । फेरि राहु भनेको संस्कृतमा छाया पनि हो । ग्रहण छायाका कारणले हुन्छ भन्ने वैज्ञानिक ठहर्छ । 

यही भदौ २२ गते चन्द्रग्रहण नेपालबाट पनि देख्न सकिने भएको छ । जब चन्द्रमा र सूर्यको बिचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छाया चन्द्रमामा पर्छ, त्यस्तो अवस्थामा चन्द्रग्रहण लाग्ने गर्छ । यस्तो अवस्था पूर्णिमाको रातमा मात्रै हुने गर्छ । अतः चन्द्रग्रहण पूर्णिमामा हुने एक घटना हो भने सूर्यग्रहण औँसीको दिनमा मात्रै हुने गर्छ । प्रत्येक औँसीमा सूर्यग्रहण लाग्दैन त्यसरी नै प्रत्येक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । छाया पर्ने धरातल फरक पर्ने भएकाले प्रत्येक पूर्णिमा र औँसीमा ग्रहणको सम्भावना नभएको हो । भदौ २२ गते रातमा लाग्ने चन्द्रग्रहणलाई किन महìव दिइएको हो भने यो ग्रहण उत्तर अमेरिका तथा दक्षिण अमेरिका का अधिकांश भागबाहेक सम्पूर्ण विश्वबाट देख्न सकिन्छ र पृथ्वीका करिब ८५ प्रतिशत मानिसले यो ग्रहण अवलोकन गर्न पाउने छन् ।

यस पटकको चन्द्रग्रहण सोह्रश्राद्धको आरम्भसँगै भएकाले समाजमा विभिन्न खाले अफवाह अथवा विभिन्न फल बताउँदै समाजलाई त्रसित गराउन खोजिएको पाइएको छ । यद्यपि चन्द्रग्रहण एक बिरलै हुने घटना हो तथापि यो कहिले लाग्यो र यसले डरलाग्दो फल दिन्छ भनी समाजलाई त्रसित गराउन पर्ने कुनै शास्त्रीय मान्यता छैन । यो एउटा सामान्य घटना हो र यसले कुनै नराम्रो फल दिँदैन । मुहूर्त चिन्तामणिमा बताइएको ग्रहण फलमा भने जुन राशि नक्षत्रमा चन्द्रमा हुँदा ग्रहण लाग्छ, त्यस राशि नक्षत्र भएका मानिसलाई ग्रहणले नराम्रो फल दिने भनी बताइएको छ । 

मुहूर्त चिन्तामणि अनुसार भदौ २२ गतेको चन्द्रग्रहण मेष, वृष, कन्या र धनु राशि भएका व्यक्तिले मात्रै हेर्न हुने अरू बाँकी राशि भएकाले हेर्न नहुने बताइएको छ तापनि विज्ञानलाई विश्वास गर्ने सबै मानिसका लागि भने कुनै पनि ग्रहण कसैले हेर्न हुने र नहुने भन्ने हुँदैन यति हो कि सूर्यग्रहण हेर्दा विशेष सावधानी भने अपनाउनुपर्ने हुन्छ । नाङ्गो आखाले सूर्यग्रहण हेरियो भने आँखा बिग्रन गई सदाका लागि अन्धो हुन पनि सकिन्छ । चन्द्रग्रहणमा भने यस्तो कुनै सावधानी अपनाउनु नपर्ने नाङ्गो आँखाले जो कोहीले पनि हेर्दा आँखामा कुनै असर नपर्ने हुन्छ । 

भदौ २२ गतेको चन्द्रग्रहण रातको १०ः१३ बाट प्रारम्भ हुन्छ भने ग्रहणको समाप्ति रातिको एक बजेर १ः४३ मा हुने छ । शास्त्र अनुसार हेर्ने हो भने ग्रहणको सुतक २२ गते दिनको १ः१३ बाट प्रारम्भ भई ग्रहणको समाप्तिसँगै १:४३ मा नै समाप्त हुने मानिएको छ । समाजमा चन्द्रग्रहणको सुतक त्यस दिनको सूर्यास्तदेखि मात्र लाग्ने चलन पनि यत्र तत्र पाइन्छ । सुतक लागेपछि नित्यपूजा, हवन, मूर्ति स्थापना, विवाह, गृहप्रवेश, जस्ता शुभकार्य गर्न मिल्दैन । भोजन पकाउन तथा खान निषेध गरिएको छ । सुतकमा कपाल काट्न, नङ काट्न, दारी बनाउन वा अन्य कुनै शारीरिक शुद्धीकरण गर्न प्रतिबन्ध छ । सुतकमा लामो दुरीको यात्रालाई पनि त्याग्नु भनिएको छ । कुनै नयाँ व्यवसाय गुरुयोजना आदिको सुरूवात पनि सुतकका बेलामा नगर्नु भन्ने शास्त्रीय मत छ । 

मासु, मदिरा, लसुन प्याज जस्ता तामसिक भोजन परिहार नगर्नु भन्ने छ । गर्भवती महिलाले सुतक अवधिमा चक्कु, सुइ जस्ता धारिला वस्तुको प्रयोग नगर्नु भन्ने आदेश शास्त्रले दिन्छ । सुतकका बेलामा खास गरी ग्रहणका बेलामा कुनै मन्त्रको जप गर्नाले सिद्धि प्राप्त हुने कुरा लेखिएको छ भने ग्रहणको नराम्रो प्रभावबाट बच्न सो बेलामा दुःखी गरिबलाई दान दिनु भन्ने शास्त्रीय मत छ । ग्रहण समाप्त भएपछि सबैले स्नान गर्नुपर्ने शास्त्रीय मान्यता छ । वृद्ध, बालक, बिरामी तथा आतुरले ग्रहणको सुतक बार्न नपर्ने शास्त्रीय छुट छ । भदौ २२ गते रातको १० बजेर १३ मिनेटमा चन्द्रमा पूरै ढाकिने छ । रातको ११:१६ मा ग्रहणको मध्य ११:५७ मा हुने छ भने ग्रहणको समाप्ति १:४३ मा हुन्छ ।