• २२ भदौ २०८२, आइतबार

एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण

blog

भक्तपुर, भदौ २२ गते । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एउटै व्यक्तिमा तीन पटक सफल मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो । 

नेपालमा एउटै व्यक्तिमा तीन पटकसम्म सफल प्रत्यारोपण गरेको यो पहिलो रेकर्ड हो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमा पहिलो पटक एक व्यक्तिमा तीन पटकसम्म सफल मिर्गौला प्रत्यारोपण गरेर गरी इतिहास रचेको जानकारी दिनुभयो । उहाँले १२ दिनअघि गत भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा छोटो समयमा नै अङ्ग प्रत्यारोपणमा फड्को मारेको जानकारी गराउनुभयो । नेपालमा केही वर्षअघिसम्म मिर्गौला प्रत्यारोपणमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै हाल मिर्गौला र कलेजो सहज रूपमा प्रत्यारोपण हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले नेपालमा पहिलो पटक तेस्रो पटक मिर्गौला प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको जानकारी गराउनुभयो । उहाँले यसरी सम्पन्न भएको प्रत्यारोपणले नेपालमा अङ्ग प्रत्यारोपण सेवाको स्तर विश्वस्तरीय क्षमता र दक्षतासँग मेल खाने स्तरमा पुगेको प्रमाणित भएको  बताउनुभयो । 

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले सामान्यतया मिर्गौला प्रत्यारोपण एक पटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने जानकारी दिँदै तर विभिन्न कारणले गर्दा मानिसमा पटक पटक प्रत्यारोपण गरिरहनुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथीलगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहने जानकारी दिनुभयो । उहाँले यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिने जानकारी गराउँदै तेस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था अत्यन्तै दुर्लभ हुने बताउनुभयो । प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउनसमेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको उहाँ बताउनुहुन्छ ।

पूर्वमन्त्री चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा विसं २०७२ भएको थियो । दोस्रो र तेस्रो प्रत्यारोपण भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्भव भएको हो । पूर्वमन्त्री चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्स्चेन्ज’ प्रणाली अन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी सम्पन्न भएको हो । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरिसकेको छ । यस्तै ३५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ । अब नेपालमा मुटु प्रत्यारोपणको तयारी भइरहेको डा. श्रेष्ठले जानकारी दिनुभयो । 

नेपालमा सन् २००८ मा पहिलो पटक वीर र त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको हो । १३ वर्षअघि सरकारले मानिसको विभिन्न अङ्गको प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरस्थित दुधपाटीमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना गरेको थियो । उक्त केन्द्रलाई पछि सरकारले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नामकरण गरेको हो । कार्यकारी निर्देशक डा. श्रेष्ठले हाल केन्द्रलाई जग्गा नभएको कारण सानो भवनमा अस्पताल सञ्चालन गर्न कठिन भएको बताउनुभयो । उक्त केन्द्रमा दैनिक आठ सयदेखि एक हजारसम्म ओपिडीमा बिरामी आउने गरेका छन् ।

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।