• ७ वैशाख २०८३, सोमबार

जिल्ला प्रशासन कार्यालयको सेवा दुई स्थानबाट सुरु

blog

सामाजिक विकास कार्यालयमा स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयको भवन ।

अमरराज नहर्की

तनहुँ, वैशाख ७ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको चाप र कार्यसम्पादनलाई सहज बनाउन दुई फरक स्थानबाट सेवा प्रवाह सुरु गरेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कार्यालय भवनमा ठूलो क्षति पुगेपछि साँघुरो स्थानबाट सेवा दिँदै आएको प्रशासनले सोमबारदेखि सामाजिक विकास कार्यालयको भवनबाट समेत कार्य सञ्चालन गरेको हो ।

गण्डकी प्रदेश सरकारले साविकको सामाजिक विकास कार्यालय र घरेलु, पर्यटन तथा उद्योग कार्यालयलाई एकीकरण गरी एकीकृत सेवा कार्यालयु सञ्चालनमा ल्याईएको थियो । यसअघि यी दुई फरक भवनबाट सेवा दिँदै आएको एकीकृत कार्यालयलाई हाल पुरानो घरेलु तथा साना उद्योग कार्यालयको भवनमा सारिएको छ । एकीकृत कार्यालय एकै ठाउँमा सीमित गराएर खाली बनाईसामाजिक विकास कार्यालयको भवनलाई प्रशासनले प्रयोगमा ल्याएको हो ।

प्रशासनले सेवालाई थप व्यवस्थित बनाउन कार्य विभाजन समेत गरेको छ । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार अब क्षति पुगेको पुरानै प्रशासनिक भवनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू प्रदान गरिनेछ । आन्दोलनबाट ध्वस्त भएको भवनलाई मर्मत गरी केही समय सेवा दिए पनि कार्यकक्षको अभाव थियो ।  रेग्मीले भन्नुभयो, "अब अन्य प्रशासनिक तथा शान्ति–सुरक्षासम्बन्धी सेवाहरू सामाजिक विकास कार्यालयमा स्थापना गरिएको नयाँ शाखाबाट प्रदान गरिनेछ ।"

आन्दोलनका क्रममा कार्यालय पूर्ण रुपमा ध्वस्त भएपछि प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष जिल्ला सभाहलका दुई कोठाबाट कार्यसम्पादन गरिएको थियो । 

यो नयाँ व्यवस्थापनसँगै जिर्ण भवनको चाप घट्ने र सेवाग्राहीले सहज रूपमा सेवा पाउने विश्वास लिइएको प्रशासनले जनाएको छ । साविकको सामाजिक विकास कार्यालयमा रहेको एकीकृत कार्यालयको इकाई सरेपछि प्रशासनलाई ठाउँ व्यवस्थापनमा सहजता मिलेको हो ।

कार्यालयका अनुसार भौतिक संरचनाको अभावमा सेवा प्रवाहमा देखिएको अवरोध यो नयाँ व्यवस्थासँगै केही सहज भएको छ।