नारद कोहार
तौलिहवा(कपिलबस्तु), वैशाख ७ गते । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले 'म जिम्मेवारी चालक' अभियान सञ्चालन गरेको छ । कपिलवस्तु जिल्ला अन्तर्गत कपिलवस्तु नगरपालिका वडा १ बहादुरगंज चोकमा सोमबार ट्राफिक प्रतिबद्धता अन्तर्गत पम्पलेट टाँस तथा वितरण कार्यक्रम गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद न्यौपानेको नेतृत्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा ट्र्याक्टर, बस, मोटरसाइकल, टेम्पो, कार तथा टिप्पर गरी ९२ वटा सवारी साधनमा “म जिम्मेवारी चालक” लेखिएको स्टिकर टाँस्नुका साथै पम्पलेट वितरण गरिएको थियो ।
कार्यक्रममा प्रहरी नायब निरीक्षक न्यौपानेले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउने भएकाले सचेत र जिम्मेवार भएर सवारी चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ट्राफिक नियमको पालना नै दुर्घटना न्यूनीकरणको मुख्य उपाय भएको उल्लेख गर्दै यस्ता जनचेतना मूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।