सिराज खान
नेपालगन्ज, वैशाख ७ गते । बाँकेको नेपालगन्जका विभिन्न चोक र सडक छेउमानै अस्तव्यस्त पार्नेगरि मनपरी तरिकाले सञ्चालन गरिएका अव्यवस्थित र गैर कानुनी बसपार्कलाई नेपालगन्ज उपमहानगरपालिकाले हटाएको छ ।
त्यसरी सञ्चालन गरिएका बसपार्ककै कारण सडक दुर्घटना हुने खतरा बढ्नुका साथै यात्रुको अनावश्यक तानातान र खिचातानी हुने र सडकमा आवागमन समेत प्रभावित हुन थालेको गुनासो उठेपछि नेपालगन्ज उपमहानगरपालिकाले त्यस्ता बसपार्क हटाएको हो ।
बर्दिया गुलरियाकालागि गाडी छुट्ने धम्बोझी चोकनजिकैको खजुरा रोडस्थित बसपार्क र पश्चिम तथा पूर्वका विभिन्न जिल्लाहरुका लागि गाडी छुट्ने पुष्पलाल चोक वाटरपार्कस्थित बसपार्कलाई सोमवार नगर प्रहरीले हटाएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले बताउनुभयो ।
उहाँले नगर प्रहरीको अगुवाईमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थितिमा ती बसपार्कहरु हटाइएको जनाउँदै अब जहाँ पायो त्यहि बसपार्क बनाउन नदिने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक बोगटीले नेपालगन्ज–४ मा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क हुँदाहुँदै कतिपय ठाउँमा मनलाग्दी अब्यवस्ति र गैर कानुनी तरिकाले बसपार्क राखेकोले पूर्व सूचना अनुसार नै बसपार्क हटाइएको बताउनुभयो ।
यसअघि माइकिंग गरेर बसपार्क हटाउन सूचित गरिएको जनाउँदै उहाँले बसपार्कबाट गाडी छुट्ने एकद्वार प्रणाली लागू गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । ठाउँ ठाउँमा अब्यवस्थित बसपार्क हुँदा यात्रुहरुलाई दुःख, हैरानी दिने, तानातान गर्ने प्रबृत्ति रहेको गुनासो उपमहानगरमा पटक पटक आएको उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै नगर प्रहरीले नेपालगन्ज १० गणेशमान चोकदेखि पश्चिमतर्फ भृकुटीनगरमा ब्यवसाय दर्ता नै नगरी लामो समयदेखि फुटपाथ कब्जा गरेर बसेका व्यवसायीलाई पनि हटाएको छ ।
नेपाली र भारतीय समेत रहेका ती ब्यवसायीहरुलाई हटाइएको नगर प्रहरी सहायक निरीक्षक पवनकुमार कनौजियाले जानकारी दिनुभयो । उहाँले उनीहरुलाई अनिवार्य रुपमा व्यवसाय दर्ता गर्न समेत निर्देशन दिइएको जनाउँदै अन्य ठाउँमा पनि यसरी नै व्यवसाय दर्ता नगरेर व्यवसाय गर्नेहरुलाई हटाउने जनाउनुभयो ।