• २३ भदौ २०८२, सोमबार

‘निजामती सेवालाई जनउत्तरदायी बनाउनु पर्छ’

blog

बुटवल समाचारदाता

बुटवल, भदौ २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई जनउत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ । प्रदेश निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै  मुख्यमन्त्री आचार्यले निजामती सेवालाई प्रविधिमैत्री र समयसापेक्ष बनाउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले त्यसका लागि लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयासरत रहेकोसमेत जानकारी दिनुभयो । उहाँले निजामती सेवाको गौरवलाई अझ उचाइमा पु¥याउन स्वयम् कर्मचारी वर्ग सचेत र सजग हुनुपर्ने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री आचार्यले २०१३ भदौ २२ गते जारी भएको निजामती सेवा ऐन आइतबार ६९ वर्ष पुगेको प्रसङ्ग उल्लेख गर्दै यस अवधिमा राजनीतिक आन्दोलन, शासन प्रणालीमा भएको परिवर्तन र संरचनागत चुनौतीबिच पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधारस्तम्भ बनेको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले आफ्नो सन्देशमा भन्नुभएको छ, “सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको छ । निजामती कर्मचारीलाई ज्ञान, सिप र इमानदारीसहित सकारात्मक सोचका साथ जनसेवामा समर्पित हुनु पर्छ ।”