• २३ भदौ २०८२, सोमबार

सोह्रश्राद्धको महिमा

blog

यस वर्षको सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । असोज ५ गतेसम्म सञ्चालन हुने सोह्रश्राद्ध बडादसैँ २०८२ को पूर्वसन्ध्या पनि हो । यसको अर्थ सोह्रश्राद्ध नगरी नवदुर्गा उपासना गरिँदैन भन्ने पनि हो । देवदेवी उपासना पूर्वपितृ बुझाउनु पर्छ । सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी । धनपुत्राःकुतस्तस्य पितृ निश्वास पीडनात् ।। यस अर्थमा आश्विन अर्थात् कृष्ण प्रतिपदादेखि भनौँ सूर्य कन्या राशिमा भएका बेला सन्ततिहरूले मृत पितृका नाममा श्राद्ध गर्नु अनिवार्य छ र नगरे दोष लाग्छ, पितृहरू निराश भई श्राप गरेर फर्कन्छन् ।

पितरः वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता भन्ने अर्थमा देवताहरू भावका भोका र पितृहरू वाक्य, व्याकरणका भोका हुन्छन् र अशुद्ध शब्दबाट पितृसम्म कुनै वस्तुको पहुँच हुन्न, विधि नपुगी गरिएको कर्मफल निस्फल नै हुन्छ । पूर्वाह्ने दैविकं श्राद्धमपराह्ने तु पार्वणम् । एकोद्दिष्टन्तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम् ।। भन्ने अर्थमा आभ्युदयिक भनौँ दैविक श्राद्ध बिहानै गरिन्छ । सोह्रश्राद्ध जसलाई पार्वण भनिन्छ, अपराह्नव्यापी हुन्छ र वार्षिक तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध मध्याह्नकालमा गरिनु पर्छ ।

मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति भन्ने अर्थमा मघा नक्षत्रको तिथिमा पार्वण श्राद्ध हुन्न र यसो गरे सन्ततिलाई हानि हुने तथा अर्को तिथि लिएर श्राद्ध गरिन्छ । यसपल्ट मघायुक्त श्राद्ध असोज ३ गते परेको छ । श्राद्धे ग्राह्यपुष्पाणिः अगस्त्यं भृङ्गराजञ्च तुलसी शतपत्रिका । चम्पकं तिलपुष्पञ्च षडेते पितृबल्लभाः भन्ने अर्थमा श्राद्धमा भृङ्गिराज पुष्प, अगस्त्यपुष्प, तुलसी, सयपत्री, चम्पक, तिलपुष्प ग्राह्य हो । श्राद्धे निषिद्धपुष्पाणिः केतकीं करवीरञ्च बकुलं कुन्दकं तथा । पाटलीं चैव जातिञ्च श्राद्धे यत्नेन वर्जयेत् भन्ने अर्थमा केतकी, करबीर, बकुल, कुन्दपुष्प, पाटली र जाई निषिद्ध भन्ने बुझिन्छ । श्राद्धविघ्ने समुत्पन्ने ह्यविज्ञाते मृतेऽहनि । एकादश्यां तु कर्तव्यां कृष्णपक्षे विशेषतः भन्ने अर्थमा तोकिएको दिन श्राद्ध नहुने भए विशेष गरी एकादशी वा औँसीमा वा अर्को गाई तिहारे औँसीमा पनि सोह्रश्राद्ध गर्न सकिन्छ ।

आश्विन कृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो । यसलाई सोह्रश्राद्ध भनिन्छ । पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा १६ दिन पूरा हुन्न र यो असोज ४ गते शस्त्रादि हताहतको मात्र्र श्राद्ध गरिन्छ, चतुर्दशी तिथि । मूलतः श्राद्ध भनेको श्रद्धा नै हो । आफ्ना दिवङ्गत पितृहरूको उद्धार, उनीहरू प्रतिको समर्पण र दयाभाव हो । आफ्ना पिता, माता र पुर्खाबिना यस धर्तीमा उदय असम्भव भएको र उनीहरूकै प्रेरणा पाएर, उनीहरूकै लालन, पालन, उचित शिक्षाको प्रबन्ध भएरै सन्तति अगाडि बढ्ने हुन् । सबैले इतिहास र पूर्वजको संस्मरण गर्नु नै पर्छ । शास्त्रले दिवङ्गत पितृहरू ८४ लाखमध्ये कुनै न कुनै योनिमा रहेका हुन्छन् भनेको छ । सन्ततिले दिएका खाना उनीहरूले देह धारण गरे अनुरूप तत् तत् योनिका खाना स्वरूप प्राप्त हुने विश्वास छ । देवता भए अमृतकै रूपमा पाउँछन् । 

अघिल्लो दिन एकभक्तिमा बसेर श्राद्धको दिन सर्वप्रथम तर्पण गरिन्छ । पु नामक नरकबाट तार्नेको नाम पुत्र भएकाले भावी र विगतका पुस्ताका लागि छोराको कर्तव्य बढी छ । लालन, पालन र कर्मको खातिर बाबु आमाले गरेको प्रयास र सो ऋणबाट चुक्ता हुने गतिलो साधन भनेको वर्षभरि मरेका पितृहरूका नाममा गरिने तर्पण नै हो । तर्पण त नित्य गरिने कार्य हो तर अहिलेको परिवेशमा धेरैले यसो गर्न सकेका छैनन् । शास्त्रीय प्रमाण खास गरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति याज्ञवल्क्य आदि र अन्यसंहितालाई आधार बनाएर तर्पणको क्रममा हरेक बिहान तर्पण सम्भव नदेखिँदा हिजोआज श्राद्धकै दिन अघि वा पछि गर्ने चलन चलेको छ । जौ तिल कुशले प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो । यसमा सर्वप्रथम ब्रह्मादि तीन देवतालाई जनै सव्यले जलदान गरिन्छ । पूर्व फर्केर प्रजापति, देवता, ऋषि, गन्धर्व, देवी, अप्सरा, नाग, यक्ष, पिशाच, भूत, पशु, मनुष्य, वनस्पति, औषधी, अत्रि, मरीचि, अत्रि आदि ऋषिहरू, भृगु, वशिष्ठ आदिलाई तिल कुशले जलदान गरिन्छ । त्यसपछि जनैलाई माला लगाएर दुई दुई पटक सात मनुष्य र पितृहरूलाई जलदान गरिन्छ । पछि अपसव्य भएर खगौतोबाट मोटक, तिलसहित दिव्य पितृहरूलाई तर्पण गरिन्छ ।

आफ्ना पिता पुर्खा, मावली, बन्धुबान्धवलगायत दिवङ्गत सबै पितृलाई तर्पण गरिन्छ । सन्तति नभएर पिण्ड पानी नपाउनेहरूका लागि पछाडि छुट्टै तर्पण हुन्छ, जनै बा कपडा पानीमा चोपेर । पिशाचहरूले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल नै हो । हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ, पितृहरूको त्यो समय भनेको एक दिन हो । त्यसैले दिनदिनै पुत्रसन्ततिबाट उनीहरूको आत्मा तृप्त हुने विश्वास अनुरूप हरेक वर्ष दिवङ्गत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध एकोद्दिष्ट श्राद्ध हो । पितृपक्षमा एकोद्दिष्ट पर्न गए एकापार्वणको रूपमा श्राद्ध गरिन्छ भने देवब्राह्मण र पितृब्राह्मण स्थापना गरी एकोद्दिष्ट श्राद्ध एकापार्वणको विधिले गरिन्छ । 

गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, वैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरूको श्वासप्रस्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरण पोषण मात्र खोज्नु राम्रो हुँदैन । यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु बाबुको या नसके बाजेको तिथिमा राम्रो हुन्छ । यसमा खास गरी स्वाहा स्वधा दुवैको आह्वाहन गरिन्छ । देवऋषिहरू, पितृऋषिहरू स्थापना गरी स्वाहा र स्वधा मन्त्रले पूजा गरिन्छ । एकातिर जनै सव्य गरेर सांँहिली औंँलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य चोरी औँलाले पूजा गरिन्छ । दिवङ्गत सबै जसोका लागि पिण्ड दिइन्छ । कसैले १६ वटा पिण्ड पु¥याउँछन् भने कसैको सोभन्दा बढी हुन्छ । कसैले छ वटा मात्र दिने गरेको पनि देखिन्छ ।

विभक्ति प्रयोग गर्दा आसनका लागि षष्ठी विभक्ति, आह्वाहनमा द्वितीया, अन्नदानमा चतुर्थी विभक्ति प्रयोग हुन्छ । हेमाद्रीले भनेको छ, पितृश्राद्धको दिन पिण्डदान नभएसम्म हवन कार्य, योगी अन्नदान, देवपूजा, ब्रह्मचारी, तपस्वी कुनै दानको काम गरिँदैन । पत्नी रजस्वला भए पिण्डदान गर्न नहुने, पतीत व्यक्तिहरूलाई आमन्त्रण गर्नु नहुने, अन्य गोत्रजलाई पनि खासमा प्रसाद निषेध गरिएको, बन्धुबान्धव, इष्टभित्र, ज्वाइँ, भान्जा, असल पुरोहित आदि आमन्त्रण गरिएर गरिने यो पर्वमा धूमधाम बाजागाजा राखी घण्ट शङ्ख आवाज र भिड गर्नु हुन्न ।

श्राद्ध गर्दा अरूको स्वामित्व भएको घर जमिनमा बसेर गरेमा पितृहरू खुसी नहुने, उनीहरूको शक्ति क्षीण हुने हुन्छ । यसर्थ सहरीक्षेत्र अरूको स्वामित्वमा बस्नेले श्राद्ध तर्पण गर्दा नजिकको तीर्थक्षेत्र या पवित्रस्थलमा गर्ने गर्छन् । श्राद्धमा प्रयोग हुने वस्तुहरू अघिपछि प्रयोग नभएका, चोखो वस्तुहरू तयार गर्नुपर्ने दुध, घिउ, तिल आदि नभई नहुने, आसनी चोखो चाहिने, खड्गपात्र, नेपाली ऊनबाट बनेका कम्बलहरू विशेष प्रिय हुने, कुश, चाँदीका, तामाका भाँडाकुँडा हुनुपर्ने, सके गाई आवश्यक पर्ने, छोरीको छोरा पनि आवश्यक पर्ने नियम छन् ।