• २३ भदौ २०८२, सोमबार

बोलेरो जिप दुर्घटना, चालकसहित ६ जना घाइते

blog

कुलबहादुर शाही

जाजरकोट, भदौ २३ गते । जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । सोमबार बिहान करिब ९ः३० बजे शिवालय गाउँपालिकाबाट छेडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च. ०३५० नम्बरको बोलेरो जिप गाडी थलह–छेडा सडक खण्डको सालतडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक शिवालय–८ का २६ वर्षीय हस्त बुढा, भेरी नगरपालिका–१ का ४६ वर्षीया अबिकला राना, शिवालय–३ का ५० वर्षीय पशुपति शर्मा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नन्दबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार चालकको निधार र टाउकोमा, रानाको दायाँ कम्मरमा र शर्माको बायाँ खुट्टा र पेटमा चोट लागेको छ । 

अन्य तीन जना घाइतेको भने पहिचान खुल्न बाँकी छ । जिपमा ९ जना सवारमध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ । जिपमा अनियन्त्रित भई सडकबाट करिब २६ मिटर तल खोलामा खसेको उहाँले बताउनुभयो । घाइतेहरूको स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेतको सिम्ता गाउँपालिकास्थित जामुने बजार पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।