फडिन्द्र अधिकारी
लेखनाथ, भदौ २३ गते। गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट जारी निषेधाज्ञा सोमबार दिउँसो २ बजेबाट अर्काे आदेश नभएसम्म जारी रहने सूचना जनाइएको छ।
जेनजी आन्दोलनकारीले पोखरा ७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रदर्शनका क्रममा एक जना आन्दोलनकारीलाई गोली लागेको छ।
सोमबार बिहान सभागृहचोकमा भएको प्रदर्शनपछि गएका आन्दोलनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका थिए। त्यसरी भएको ढुङ्गामुढाले कार्यालयका सिसा फुटेका छन्। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले प्रदर्शन अराजक बनेपछि सामान्य बल प्रयोग भएको बताउनुभयो।
“प्रदर्शन अलि अराजक बनेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग भएको हो, स्थिति अहिले नियन्त्रणमै छ,” उहाँले भन्नुभयो। निषेधाज्ञाका बाबजुद प्रदर्शन भने जारी छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख गरेको छ। सहिदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाइचोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैँक चोकमा निषेधाज्ञा जारी भएको हो।
त्यसअघि आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो। प्रदर्शनका क्रममा एक किशोरलाई गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते किशोरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले जानकारी दिनुभयो।