दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ २३ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले एक सूचना जारी गर्दै सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको जनाउनु भएको छ ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिरिया पुल, उत्तरमा गण्डक चौक, दक्षिणमा शंकराचार्य गेट चार किल्ला तोकि कर्फ्यु आदेश जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गरिएको आदेशअनुसार तोकिएको क्षेत्रभित्र सर्वसाधारणले आवतजावत गर्न, भिडभाड गर्न, जुलुस, सभा, प्रदर्शन वा कुनै किसिमको भीड जम्मा गर्न पूर्णतः निषेध गरिएको छ ।
सूचनामा कर्फ्यु आदेश जारी गरिनुको कुनै कारण खुलाइएको छैन भने आदेश पालना नगर्नेलाई कानुन बमोजिम कारवाही गरिने चेतावनी पनि दिएको देखिँदैन ।
भ्रष्टाचार र कुशासनविरुद्ध देशव्यापीरूपमा फैलिएको जेनजी पुस्ताको आन्दोलन सोमबार वीरगञ्जमा समेत प्रदर्शन गरिएको थियो भने प्रदर्शनकारीहरूले घण्टाघर चोक, माईस्थान चोकलगायतका क्षेत्रमा टायर बालेर नाराबाजी गरेकाले बढ्दो तनाव र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको जानकारी दिइएको छ ।
सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरीलाई सडकमा खटाइएको छ भने कफ्र्यू आदेश जारी भए लगतैदेखि वीरगञ्जको बजार, पसल र सडक सुनसान भएका छन् ।