बेइजिङ, भदौ २३ गते । चीनको अगस्ट महिनाको निर्यात वार्षिक आधारमा ४.४ प्रतिशतले वृद्धि भए पनि यो वृद्धि आर्थिक विश्लेषकले गरेका पूर्वानुमानभन्दा कम भएको देखिएको छ । अमेरिकातर्फको निर्यात घटे पनि दक्षिणपूर्वी एसिया र युरोपतर्फको निर्यातमा उल्लेखनीय सुधार देखिएको छ ।
यस वर्ष चीन र अमेरिकाबिचको व्यापार सम्बन्धमा चर्को उतारचढाव आएको छ, जसअन्तर्गत दुवै देशले एकअर्काको वस्तुमा उच्च टारिफ (मासुल) लगाएका छन् । आधिकारिक तथ्याङ्क अनुसार, अगस्टमा अमेरिकातर्फको निर्यात अघिल्लो महिनाको तुलनामा ११.८ प्रतिशतले घट्यो भने गत वर्षको सोही महिनाको तुलनामा ३३.१ प्रतिशतले कमी आएको छ ।
यद्यपि, युरोपेली सङ्घतर्फको निर्यातमा १०.४ प्रतिशत र दक्षिणपूर्वी एसियाली राष्ट्रतर्फको निर्यातमा २२.५ प्रतिशतले वृद्धि भएको छ । तर कुल निर्यात वृद्धि ब्लूमबर्गद्वारा गरिएको ५.५ प्रतिशतको पूर्वानुमानभन्दा कम रह्यो । उता, आयातमा पनि कमजोरी देखिएको छ । अगस्टमा आयात १.३ प्रतिशतले मात्र बढ्यो, जुन ३.४ प्रतिशतको पूर्वानुमानभन्दा कम हो ।
टारिफको डरले चाँडै सामान पठाउने प्रवृत्ति अब घट्दै
पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङले बताएअनुसार, विगतमा टारिफ बढ्ने डरले व्यवसायीहरूले चाँडै सामान पठाउने (फ्रन्टलोडिङ) प्रवृत्ति देखिएको थियो, तर अब त्यो प्रभाव क्रमशः कम हुँदै गएको छ । उहाँले थप्नुभयो, “चिनियाँ व्यवसायीले अन्य देशमा आफ्नो बजार हिस्सा बढाउने प्रयास गरिरहेका छन्, जुन कमजोर घरेलु मागका कारण पनि देखिएको हो ।”
दक्षिण पूर्वी एसिया र चीनबिचको आपूर्ति श्रृङ्खला (सप्लाइ चेन) निकै गहिरो रूपमा जोडिएको छ । अमेरिकाले चिनियाँ सामान अरू देश हुँदै पुनः निर्यात (ट्रान्ससिपमेन्ट) गरिरहेको आरोप लगाउँदै आएको छ,जसको उद्देश्य उच्च टारिफबाट जोगिनु हो । इकोनोमिस्ट इंटेलिजेन्स युनिटकी प्रमुख अर्थशास्त्री युए सुका अनुसार,“व्यापार मार्ग परिवर्तन भइरहेको स्पष्ट देखिन्छ, जुन टारिफबाट जोगिन आपूर्ति श्रृङ्खलाको विविधीकरण गर्ने प्रयासको भाग हो ।”
चीनले यस वर्ष आर्थिक वृद्धि करिब ५ प्रतिशत हुने लक्ष्य राखेको भए पनि हाल घरेलु मागको कमजोरी, घरजग्गा क्षेत्रमा ऋण सम्बन्धी समस्या र युवा बेरोजगारी जस्ता कारणले पूर्ण पुनःउत्थानमा कठिनाइ भइरहेको छ । अगस्टमा कारखानाको उत्पादन थोरै बढे पनि पाँचौँ महिनासम्म पनि उत्पादनमा सङ्कुचन रहिरह्यो, जसले देखाउँछ कि व्यापार तनावले निर्यातमुखी अर्थतन्त्रमा असर पारिरहेको छ । रासस/एएफपी