काठमाडौँ, भदौ २३ गते। जेनजीको प्रदर्शनले सोमबार काठमाडौँको जनजीवन अस्तव्यस्त बनेको छ। सुरुमा नयाँ बानेश्वरबाट चर्किएको आन्दोलन सहरका अधिकांश ठाउँमा पुगेको छ। नयाँ सडकमासमेत ढुंगामुढा र तोडफोड भएको छ।
सोमबार बिहान माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो। नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो। त्यसको प्रभाव साँझपख न्युरोड क्षेत्रमा परेको हो। मुलसडकमा ढुंगामुढा भएपछि व्यापारीले सबै सटर बन्द गरेका छन्। केही समय बजार क्षेत्रमा भागदौड मच्चिएको थियो।