• २४ भदौ २०८२, मङ्गलबार

जेनजी आन्दोलनमा सुरक्षार्थ खटेका दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

blog

जेनजी प्रदर्शनमा सोमबार सुरक्षार्थ खटेका सुरक्षाकर्मीहरु ।

काठमाडौँ, भदौ २३ गते । जेनजी प्रदर्शनमा सोमबार सुरक्षार्थ खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी झडपमा घाइते भएका छन् । निषेधित क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रण लिने र शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीतर्फ १७८ र सशस्त्र प्रहरी बलतर्फ ३० जनाभन्दा बढी घाइते भएका छन् । 

नेपाल प्रहरीका घाइतेमध्ये ३८ जनाको उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो । नयाँ बनेश्वरस्थित सङ्घीय संसद् भवनभित्र प्रवेश गर्न खोजेका आन्दोलनकारी र प्रहरीबिच आज दिनभरजसो झडप भएको थियो । त्यस क्रममा प्रदर्शनकारीले संसद् भवन पर्खाल तोडफोड र भवनको दक्षिणतर्फको प्रहरी क्वार्टरमा आगजनी गरेका थिए । प्रदर्शनकारीले सोही ठाउँमा सशस्त्र प्रहरीको एम्बुलेन्समा आगो लगाएका थिए ।

प्रदर्शनकारीले संसद् भवनलाई घेरा हाली प्रवेशका लागि पटक पटक प्रयास गरेका थिए । त्यस क्रममा दुई पक्षबिच झडप भएको थियो । हालसम्म प्राप्त विवरणअनुसार १९ जनाको मृत्यु र तीनसयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजामती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनको समाचार सङ्कलनमा खटिइएका चार जना पत्रकार घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा, इँटा, सिसाका बोतल लागेर घाइते भएका सुरक्षाकर्मीलाई संसद् भवनभित्र रहेको स्वास्थ्योपचार केन्द्रमा उपचार गरिएको थियो । सुरक्षाकर्मीको टाउको, हात, मुखलगायत अङ्गमा चोट लागेको छ । सङ्घीय संसद् सचिवलयका चिकित्सक पुष्पराज रिजाललाई घाइते सुरक्षाकर्मीको प्राथमिक उपचार गर्न भ्याइनभ्याइ परेको थियो । प्राथमिक उपचारपछि गम्भीर घाइते सुरक्षाकर्मीलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल ‘रेफर’ गरिएको थियो । अहिले काठमाडौँ उपत्यकासहित देशभरको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । रासस