तेल अविभ, इजरायल, भदौ २३ गते । यमनस्थित हुथी विद्रोहीले आइतबार इजरायलको दक्षिणी भागमा पर्ने रमान अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन मार्फत आक्रमण गरेका छन् । इजरायली सेनाले यस घटनामा विमानस्थलका काँच फुटेको, एक जना व्यक्ति सामान्य घाइते भएको र केही घण्टाका लागि उडान रोकिन पुगेको बताएको छ ।
विमानस्थलमा पुगेको क्षति सानोतिनो रहेकोले उडान पुनः छिट्टै सञ्चालनमा आएका थिए । हुथी विद्रोहीले यस आक्रमणको जिम्मेवारी लिएका छन् र यसलाई इजरायलमाथिको आफ्नो सैन्य अभियानलाई तीव्र पार्ने सन्देशका रूपमा व्याख्या गरेका छन् ।
हुथी सैन्य प्रवक्ताले ८ वटा ड्रोन प्रहार गरिएको बताउनुभयो । उहाँले इजरायलका विमानस्थल सुरक्षित नभएको चेतावनी दिनुभएको छ । इजरायली सेनाले केही ड्रोनलाई रोक्न सफल भएपनि यस ड्रोनलाई समयमै नियन्त्रणमा लिन नसकेको कारणको अध्ययन गरिरहेको जनाएको छ ।
हुथी विद्रोही र इजरायलबिच तनाव बढ्दो क्रममा
इजरायलले यमनमा हुथी विद्रोहीको प्रधानमन्त्री अहमद अल-राहावी र अन्य वरिष्ठ अधिकारीको हत्या गरेको केही दिनमै हुथी विद्रोहीले इजरायलमाथि आक्रमण तीव्र पार्ने प्रतिज्ञा गरेका छन् । हुथी विद्रोहीले आधुनिक हतियार तथा क्लस्टर बमको प्रयोग गर्दै इजरायलमाथि आक्रमण गरिरहेका छन्, जसले इजरायली सुरक्षा प्रणालीलाई चुनौती दिइरहेको छ । रासस/एपी