• २३ भदौ २०८२, सोमबार

दस महिनामा साठी प्रतिशत काम

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी, भदौ २३ गते । मोरङको रङ्गेली–८, दर्बेसामा निर्माणाधीन मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (एकीकृत विपत् केन्द्र) को निर्माण १० महिनामा ६० प्रतिशत सकिएको छ ।

कोशी प्रदेश सरकारको प्रदेश सहयोग कार्यव्रmम अन्तर्गत एकीकृत विपत् केन्द्रको निर्माण भएको हो । यो कार्यव्रmमका लागि प्रदेश सरकारलाई स्विस सरकार विकास सहयोग एसडिसीले सहयोग गरेको छ । प्रत्येक पालिकामा वारुणयन्त्र, शववाहन, एम्बुलेन्स, अग्निनियन्त्रक र विपत्का जनशक्ति व्यवस्थापन गर्न आर्थिक कठिनाइ भएपछि मोरङका धनपालथान, कानेपोखरी गाउँपालिका र रङ्गेली, सुनवर्षी नगरपालिकाको संयुक्त लगानीमा एकीकृत विपत् व्यवस्थापन केन्द्रको निर्माण थालिएको हो । गत मङ्सिर ३० गते आइतबार शिलान्यास भएको केन्द्रको निर्माण ६० प्रतिशत सकिएको छ । रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले भन्नुभयो,  “निर्माणको काम निर्धारित समयमा नै सकिने छ । स्रोतको सुनिश्चित भएकाले कुनै अवरोधबिना काम भइरहेको छ ।” 

२०८१ को जेठ २१ गते ब्राइट बुल निर्माण सेवा धरानसँग निर्माणको सम्झौता भए पनि छ महिनापछि मङ्सिरमा भवनको शिलान्यास भएको थियो । मूल्य अभिवृद्धि करसहित नौ करोड ३३ लाख ८१ हजार ५५५ रुपियाँ ११ पैसामा निर्माण हुन लागेको हो । सम्झौता अनुसार आगामी पुस ३० गतेभित्र सबै संरचना निर्माण भइसक्नुपर्ने छ ।  

प्रशासनिक भवन, चारै पालिकाका केही नगर प्रहरी, अग्निनियन्त्रक, विपत्का अन्य कर्मचारीको आवास, सशस्त्र प्रहरीका लागि अलग्गै भवन, वारुणयन्त्र, एम्बुलेन्स, शववाहन राख्न अलग अलग संरचना निर्माण भइरहेका छन् । हाल कानेपोखरी र रङ्गेली नगरपालिकासँग वारुणयन्त्र र शववाहन रहेका छन् । 

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि दुई वर्षअघि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको थियो । केन्द्र निर्माणका लागि रङ्गेली नगरपालिकाले १२ कट्ठा जग्गा उपलब्ध गराएको छ । 

रङ्गेली नगरपालिकाका नगरप्रमुख दिलीपकुमार अग्रवालका अनुसार प्रदेश सहयोग कार्यव्रmम अन्तर्गत दुई करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको छ करोड २५ लाख २९ हजार र चार वटै पालिकाले एक करोड ८५ लाख रुपियाँ निर्माणका लागि लगानी गर्ने सहमति भएको छ ।