गाजा, भदौ २३ गते । हमासले युद्धविराम सम्झौताका लागि बन्धकको रिहाइ सम्बन्धमा छलफल गर्न तयार रहेको जनाएको छ । गाजा क्षेत्रमा जारी द्वन्द्व अन्त्य, इजरायली फौजको पूर्ण फिर्ता र स्वतन्त्र प्यालेस्टिनी प्रशासन समिति गठनको सर्तमा हमासले सबै बन्धकलाई मुक्त गर्ने विषयमा वार्ता गर्न इच्छुक भएको हो ।
मध्यस्थकर्ताहरू मार्फत् अमेरिकी पक्षले प्रस्तुत गरेको युद्धविराम प्रस्तावलाई हमासले स्वागत गरेको छ । तर, विगतका सम्झौता जस्तै यस पटक पनि इजरायलबाट स्पष्ट र प्रत्यक्ष प्रतिबद्धता नआए निराशा हुने सम्भावना रहेको हमासले जनाएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभयो,“इजरायलले मेरो शर्त स्वीकार गरिसकेको छ । अब हमासले पनि स्वीकार गर्नुपर्ने समय आएको छ । यो मेरो अन्तिम चेतावनी हो ।”
इजरायलका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा बताएअनुसार, इजरायलले राष्ट्रपति ट्रम्पको प्रस्तावलाई गम्भीरतापूर्वक विचार गरिरहेको छ । प्रस्ताव अनुसार, गाजा सहरमाथिको आक्रमण स्थगित गरिने र युद्धविरामको पहिलो दिनमा करिब ४८ जना बन्धकमध्ये जीवित रहेका सबैलाई रिहा गरिने । यसका बदला हजारौं प्यालेस्टिनी बन्दी रिहा गरिने छन् । युद्ध अन्त्यका लागि वार्ता राष्ट्रपति ट्रम्पको मध्यस्थतामा सुरु हुने र वार्ताका क्रममा युद्धविराम कायम रहने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा