• २३ भदौ २०८२, सोमबार

माटोको घारमा मौरीपालन

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी, भदौ २३ गते । मोरङको केराबारी–५, सतिसालेका २८ वर्षीय राजु राई अहिले नयाँ प्रविधिबाट मौरीपालन गरिरहनुभएको छ ।  बजारमा स्थानीय सेरेना जातका मौरीको महको माग उच्च छ । नस्ल सुधार गरिएका मेलिफेरा जातका मौरीभन्दा सेरेना जातका मौरी जुनसुकै वातावरणमा बाँच्न सक्छन् । मेलिफेरालाई असारदेखि असोजसम्म चिनी र सातु खुवाएर बचाउनु पर्छ तर सेरेना आफैँ पनि बाँच्न सक्छ । त्यसैले राजु राई यतिबेला माटोको घारमा सेरेना जातको व्यावसायिक मौरीपालन गरिरहनुभएको छ । गत वर्ष उहाँले आफैँ माटोको घार बनाउनुभयो । वातावरणमैत्री घारमा मौरीको रानो सार्नुभयो । मौरी रमाएर बसे । उन्नत जातका पाँच र स्थानीय जातका २० घार मौरी पालेका राईले भन्नुभयो, “स्थानीय जातका मौरीले बनाएको बजार मूल्य उच्च छ । दुई हजार पाँच सय रुपियाँसम्म बिक्री हुन्छ । उन्नत जातको मह एक हजार दुई सयसम्ममा बिक्री हुन्छ ।” 

अहिले मह उत्पादनसँगै स्थानीय जातको मौरी विस्तार अभियानमा लागेका राई माटोको घार पनि एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्ने गरी बनाउने तयारी गरिरहनुभएको छ । मेलिफेरालाई नडुलाइकन हुँदैन तर सेरेनालाई डुलाउनु पर्दैन । उत्पादनका हिसाबले स्थानीय जातको भन्दा दोब्बर मह उन्नत जातका मौरीले दिन्छन् । राजुका अनुसार घर आसपासका राङ्चा, फाँटेगाउँमा राखेको मौरीको घारबाट यसै वर्ष ३० केजी मह उत्पादन भयो । अर्को वर्ष कम्तीमा एक सय केजी उत्पादन गर्ने लक्ष्य छ । 

मौरीको घार र मह दुवैको माग राम्रो छ । स्थानीय डुडमा उत्पादन गरे जस्तै मह उत्पादन गरेपछि राजुलाई बजारको अभाव नहुने ठम्याइ छ । राजुकी श्रीमती पार्वती घरायसी खर्च व्यवस्थापनका लागि घरमा सानो किराना पसल सञ्चालन गर्नुहुन्छ । त्यही पसलबाट मह बिक्री भइरहेको राजुको भनाइ छ । आफैँ उत्पादन गरेर आफैँ बिक्री गर्दा अझ बढी फाइदा भएको राजुको भोगाइ छ । मौरीपालन, किराना पसलसँगै विभिन्न फलफूलको नर्सरीसमेत सञ्चालन गर्दै आएका राजु राई यतिबेला पैसा कमाउन विदेश जानु नपर्ने बताउनुहुन्छ । कमजोर आर्थिक अवस्थाका राई कुनै समय ट्रेकिङ गाइड हुनुभयो । कहिले विदेश जान पासपोर्ट बोकेर मेनपावर कम्पनी धाउनुभयो  तर कतैबाट पनि राजुले सुख पाउनु भएन । त्यसपछि पासपोर्ट थन्क्याएर उहाँ कृषि कर्ममा लाग्नुभयो । 

उहाँले भन्नुभयो, “स्थानीय सावित्री माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्ने पैसा जुटाउन सकिनँ । त्यसपछि सम्भावनाको खोजीमा झन्डै एक दशक डुलेरै बितेछ । विदेश नजाने निर्णय गरेर फर्किएपछि धान फल्ने खेत मासेर राजुले उखु खेती सुरु गर्नुभयो । पहाडी गाउँबाट तल १५, १६ किलोमिटर झरेर साइकलमा उखु बेचेँ । त्यसपछि साइकलमा उखु बेच्न छाडेर फलफूल, बोटबिरुवाका बेर्ना उत्पादन र बिक्रीको काम थालेँ ।”  हजुरबुवा अमृतबहादुर राईले परम्परागत रूपमा बिरुवा उत्पादन गर्नुहुन्थ्यो । हजुरबुवाको काम आफैँ थालेपछि आम्दानी मनग्गे हुन थाल्यो । आमा मङ्गमायाले भन्नुभयो, “जेठो छोरालाई पढाउन सकेनौँ तर अहिले ऊ गाउँकै कृषि उद्यमी भएको छ । अहिले राजु मौरीपालनसँगै सुपारी, कटहर, लिची, आँपलगायत फलफूलका बिरुवा उत्पादन गर्ने र बेच्ने काम गरिरहेको छ ।”