प्रेम अधिकारी
पशुपतिनगर(इलाम) भदौ २३ गते । इलामको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई वटा बोर्डर आउट पोस्ट (बिओपी) को उद्घाटन गरिएको छ। इलामको सूर्योदय नगरपालिका ४ छब्बीसे र सूर्योदय नगरपालिका-१, मानेभन्ज्याङको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई वटा बिओपीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहालले उद्घाटन गर्नुभएको हो ।
सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सिमानामा शान्ति सुरक्षा कायम गर्न भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँले सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले नेपाल भारत दुई देशबिच शान्ति सुरक्षा कायम गर्ने विषयमा समन्वय गर्ने, स्थानीयसँग समन्वय गर्ने र स्थानीय सरकारसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने सशस्त्र प्रहरीको लक्ष्य रहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले भन्नुभयो, ‘सशस्त्र प्रहरीले सीमानामा बसेर नागरिकको मन जितेर काम गर्नुपर्छ, खुल्ला सीमा नाका भएका ठाउँमा अवैध गतिविधि रोक्न सशस्त्र प्रहरीको ठुलो हात छ।’
भवन उद्घाटन गर्दै दाहालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न सशक्त भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन समेत दिनुभयो । छब्बीसेमा सङ्घीय सरकारको दुई करोड छ लाख १२ हजार तीन सय रुपियाँको लागतमा सशस्त्र प्रहरीको पक्की भवन निर्माण गरीएको छ । उक्त भवनको ठेक्का २०८१ साल फागुन १५ गते भिक्टोरिया हाइड्रो कन्ट्रक्सन कम्पनीले लिएको थियो ।
त्यस्तै मानेभन्ज्याङमा दुई करोड ३२ लाख ६६ हजार चार सय १९ रुपियाँको सङ्घीय सरकारको लगातमा पक्की भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको २०८० साल माघ १२ गते टेरिसन क्राइस्टल जेभीले ठेक्का लिएको थियो । यस अघि उक्त दुबै स्थानमा कच्ची संरचनामा सशस्त्र प्रहरी बस्दै आएका थिए । भवन निर्माण सम्पन्न भएपछि दैनिक काम र कार्य सम्पादनमा सहजता भएको सशस्त्र प्रहरी इलामका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । ‘सीमावर्ती ग्रामिण क्षेत्रमा स्थापना भएका सशस्त्र प्रहरीका बिओपीले नेपाल भारत बिच हुने सीमा विवाद कम भएको छ, आगामी दिनमा सीमा क्षेत्रका तस्करी नियन्त्रणमा पनि ध्यान दिनुपर्छ,’ उप प्रमुख बरालले भन्नुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरीका कोशी प्रदेश १ नं. बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाली सेना इलामका प्रमुख प्रहलाद घले, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एक नारायण कोइराला, सशस्त्र प्रहरी उपरीक्षक दोर्ण विष्ट, सूर्योदय नगरपालिका-१ का वडाध्यक्ष राजकुमार लिम्बु, वडा २ का वडाध्यक्ष डिकबहादुर बम्जन, वडाध्यक्ष सरन राई, वडा ५ का वडाध्यक्ष उर्गेन बम्जन लगायतका जनप्रतिनिध र स्थानीयको सहभागीता रहेको थियो । उक्त अवसरमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीयलाई सम्मान समेत गरीएको थियो ।
इलाम जिल्लाको रोङ गाउँपालिका सलकपुर तिरिङ देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्म ५२ दशमलब ५ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र रहेको छ । सीमा क्षेत्रका यी स्थानमा शसस्त्र प्रहरीको छ वटा बिओपी र पशुपतिनगरमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म गरी सात वटा कार्यालय स्थापना भैसकेका छन ।
सशस्त्र प्रहरी बल इलामका अनुसार अव पशुपतिनगर र कालपोखरीको मात्र भवन निर्माण गर्न बाँकी छ । यी दुई स्थानमा जग्गा प्राप्त भइसकेकाले आगामी दिनमा भवन निर्माण गरिने जनाइएको छ । सीमा क्षेत्रमा शसस्त्र प्रहरी कार्यालय स्थापना गरी बस्न थालेपछि नेपाल–भारत बिचमा हुँदै आएका सीमा विवाद समेत कम हुँदै गएको छ ।