चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रेविज र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरिएको छ । कुकुरसहितका जनावरले टोकेमा रेविज खोप र खिया लागेका फलामजन्य वस्तुका कारण चोट लागेमा लगाइने टिटी खोप गाउँपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममार्फत बजेटको व्यवस्था गरी रेविज रोगविरुद्धको खोप र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउन थालेको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार शाहका अनुसार पालिकाका तीन वटा स्वास्थ्य संस्थाबाट उक्त सेवा सुरु गरिएको छ ।
गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखु स्वास्थ्य चौकी, वडा ३ आङ्खोप स्वास्थ्य चौकी र वडा ६ मेहेले स्वास्थ्य चौकीबाट निःशुल्क सेवा सुरु भएको शाखा प्रमुख शाहले जानकारी दिनुभयो । उक्त स्वास्थ्य संस्थाहरूबाट कुकुरसहितका शङ्कास्पद जनावरले टोकेमा रेविज विरुद्धको खोप र खिया लागेका औजार वा फलामजन्य वस्तुले चोट लागेमा टिटी खोप सेवा निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य सुविधासम्बन्धी उक्त सेवा उपलब्ध गराउन थालेसँगै रेविज तथा टिटी खोपका लागि जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा सर्वसाधारण सेवाग्राहीले धाउनुपर्ने अवस्थाको अन्त्य भएको शाहको भनाइ छ । यसअघिसम्म कुकुर वा अन्य शङ्कास्पद जनावरले टोकेर चोट लागेमा र खिया लागेको फलामजन्य वस्तुले घाउचोट बनाएमा जिल्ला अस्पताल तथा सुविधा सम्पन्न स्वास्थ्य संस्थाबाट सेवाग्राहीले सेवा लिँदै आएका थिए ।
यता सिदिङ्वावासी जनताको सुविधालाई दृष्टिगत गरी रेविज र टिटी खोप सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । अध्यक्ष राईले रेविजविरुद्धको खोप र टिटी खोप सुविधा लिनुपर्ने अवस्था आएमा तोकिएको स्वास्थ्य संस्थाबाट सेवा लिनका लागि पालिकाका ७ वटै वडाका सर्वसाधारण सेवाग्राहीलाई आग्रह गर्नुभएको छ ।