• २३ भदौ २०८२, सोमबार

नाट्टा बाँके अध्यक्षमा रेग्मी निर्विरोध

blog

नाट्टा बाँके च्याप्टरको निर्विरोध निर्वाचित नयाँ कार्यसमिति । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २३ गते । नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको तेस्रो साधारणसभा तथा अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

अधिवेशनबाट डिल्लीराज रेग्मीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता विश्वजीत तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार झविलाल शर्मा उपाध्यक्ष, भागीराम वली महासचिव, रेशमबहादुर खत्री सचिव, कुमार चाल्स श्रेष्ठ कोषाध्यक्ष र लवराज प्रधान सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै, कार्यकारी सदस्यहरूमा अल्पना गुप्ता, कुलबहादुर के.सी, शम्भुकुमार बुढाथोकी, हरिप्रसाद शर्मा र कुशल दर्लामी निर्वाचित हुनुभएको छ । बाँकेको पर्यटकीय क्षेत्र कोहलपुर–१३, भरैयास्थित भरैया फार्मस्टेमा नाट्टा बाँके च्याप्टरको तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनमा च्याप्टरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले स्थापनादेखि हालसम्मका संस्थागत प्रगति र उपलब्धी प्रस्तुत गर्नुभएको थियो । कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख सङ्गीता सुवेदीले अधिवेशन उदघाटन गर्दै पर्यटनको विकासमा सहकार्यको प्रस्ताव गर्नुभयो । उहाँले कोहलपुरलाई पश्चिम नेपालको पर्यटकीय द्वारको रूपमा विकास गर्दै जाने नगरपालिकाको योजना रहेको सुनाउनुभयो । 

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका महामन्त्री मिनबहादुर मल्ल, पत्रकार झलक गैरे, बुद्ध एअरका नेपालगन्ज प्रमुख विनित शाहलगायतले नेपालगन्जलाई भारतीय पर्यटकको प्रमुख गन्तव्य बनाउनु पर्नेमा जोड दिनुभयो ।