बबई समाचारदाता
बबई (बर्दिया), भदौ २३ गते । छोराछोरीको उमेर अनुसार यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा सल्लाह दिनका लागि बर्दियाको गुलरियामा बुवा बैठक सम्पन्न भएको छ । किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यले बर्दियाको गुलरियामा बुवा बैठक आयोजना गरिएको हो । बाँके युनेस्को क्लबले बालविवाह न्यूनीकरणका लागि सञ्चालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत बर्दियाको गुलरियामा बुवा बैठक सम्पन्न भएको हो ।
बैठकमा उपस्थित बुवाहरूले आफ्ना परिवार तथा छरछिमेकमा रहेका नानीबाबुलाई गर्ने व्यवहार, बालबालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, समुदायमा सकारात्मक अधिकारको अभ्यास प्रवर्धन गर्ने र यौनिकतालाई बुझ्न र व्यवहारमा लैजाने, परिवारभित्र खुला छलफल गर्ने बानीको विकास गर्न अभिप्रेरित गर्ने उद्देश्यले बुवा बैठक आयोजना गरिएको हो ।
बाँके युनेस्को क्लब बर्दियाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले परिवारमा रहेका छोराछोरीलाई सकारात्मक दृष्टिकोणसहित यौनिकता बुझ्न र व्यवहारमा लैजानका लागि बुवा बैठकको आयोजना गरिएको बताउनुभयो ।
बालविवाह न्यूनीकरणका लागि काम गर्दै आएको गैरसरकारी संस्था बाँके युनेस्को क्लबले बर्दियामा आयोजना गरेको बुवा बैठक पहिलो बैठक हो । बुवा बैठकमा सहभागी गुलरिया नगरपालिका–११, डल्लाइपुरका स्थानीय राममुरत यादवले यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी आवश्यक जानकारी र अभिप्रेरणा मिलेको बताउनुभयो । बैठकमा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित बुवाहरूले कार्यक्रमबाट आफूहरूले धेरै कुरा सिक्न पाएको बताउनुभयो ।
गुलरिया नगरपालिकाका स्थानीय बासिन्दा उमेशकुमार यादवले बालबालिकाबारे बुवा बैठकबाट गरिएका निर्णय घर घरमा कार्यान्वयन गर्ने गरी सम्पन्न गरिएको बताउनुभयो । गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले बाँके युनेस्को क्लबले बालविवाह नियन्त्रणका लागि काम गरिरहेको समयमा आयोजना गरिएको बुवा बैठकले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले समुदायस्तरबाट यस्ता कार्यक्रम गर्न सके किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा समेत टेवा पुग्ने बताउनुभयो ।