काठमाडौँ, भदौ १८ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँको बुढानिलकण्ठमा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माणको काम अगाडि बढिरहेको बताउनुभयो।
बुधबार अटिजमको उपचार, रोकथाम र व्यवस्थापनसम्बन्धी समितिले तयार पारेको अध्ययन प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको हो । उहाँका अनुसार बुढानिलकण्ठ–४ को जग्गामा अटिजमका बालबालिकालाई विद्यालय बनाउन भवन निर्माण प्रक्रिया सुरु भएको हो।
उहाँले अटिजम भएका बालबालिकालाई विद्यालय निमार्ण गर्न तीन करोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । यो विद्यालय सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
मन्त्री पौडेलले प्रत्येक प्रदेशमा कम्तीमा एउटा-एउटा अटिजम विद्यालय स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।
आठ महिना अगाडि मन्त्रालयले अटिजमको उपचार, रोकथाम र व्यवस्थापनसम्बन्धी निर्देशिका तयार पार्न डा. दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले बुधबार मन्त्री पौडेललाई निर्देशिकाको मस्यौदा हस्तान्तरण गरेको छ । उक्त मस्यौदा बुझाउँदै समितिका संयोजक डा. महराले सबै तहले कार्यक्रम सञ्चालन गर्न मिल्ने गरी निर्देशिकाको मस्यौदा तयार पारेको जानकारी दिनुभयो ।
कान्तिबाल अस्पतालमा बाल मनोरोग विशेषज्ञ डा.अरुण कुँवरले नेपालमा अटिजम कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारी स्तरबाट कुनै कार्यक्रम नभएको गुनासो गर्नुभयो । उहाँले यो निर्देशिकाले अटिजम भएका बालबालिकाको हेरचारको लागि उपयुक्त कार्यक्रम ल्याउन सहयोग पुग्ने दाबी गर्नुभयो ।
त्यस्तै, अटिजम केयर सोसाइटिकी अध्यक्ष डा.सुनिता मलेखुले नेपालमा अटिजम जनस्वास्थ्यको समस्याको रूपमा देखिएको बताउनुभयो । उहाँले यो निर्देशिकाले राष्ट्रिय स्तरबाट अटिजमको सम्बोधन गर्न सहयोग पुग्ने बताउनुभयो ।
नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिको सङ्ख्या चार हजार ८८४ देखिन्छ। विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा झण्डै तीन लाखमा समस्या रहेको अनुमान गरेको छ।