• २३ भदौ २०८२, सोमबार

पचास जना क्षमताको कारागारमा एक सय ७६ कैदीबन्दी

blog

धनकुटा नगरपालिका–६, स्थित हुलाकटोलमा रहेको जिल्ला कारागार धनकुटा । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) भदौ २३ गते ।
जिल्ला कारागार धनकुटामा क्षमताभन्दा करिब चार गुणा बढी कैदीबन्दी हुँदा समस्या भएको पाइएको छ । आवश्यक पर्ने क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेसँगै समस्या भएको पाइएको हो ।

कारागारको क्षमता पचास जना रहेकोमा अहिले एक सय ७६ जना कैदीबन्दी राखिएका छन् । जुसले गर्दा उनीहरूको दैनिक स्वास्थ्या समस्यादेखि लिएर खान, बस्न र सुत्न समेत हुँदै विभिन्न समस्या देखा परेको पाइएको छ । कारागारमा अहिले सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दामा कैदीबन्दी रहेका छन् । ज्यान मुद्दामा ६९ जना, जबरजस्ती करणीमा ६५ जना, लागुऔषधमा ५० जना, चोरी डकैतीमा नौ जना र अन्य १३ जना गरी एक सय ६७ जना कैदीबन्दी रहेका छन् । यस्तै धनकुटा कारागार महिलाका लागि १५ र पुरुषका लागि ३५ जनाको क्षमताको भवन रहेको छन् ।

पन्ध्र जना महिला कैदीबन्दी क्षमता धनकुटा कारागारमा तत्काल पाँच जना महिला कैदीबन्दी रहेका छन् । त्यस्तै त्रिपन्न जना पुरुष कैदीबन्दी मात्रै राख्ने क्षमता कारागार रहेको छ । तर उक्त कारागारमा भने एक सय ७१ जना पुरुष कैदीबन्दी राखिएको जिल्ला कारागार धनकुटाका प्रमुख सन्दिप न्यौपानेले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि केही कैदीबन्दीको स्तान्तरणको प्रक्रिया पनि सुरु गरिएको कारागार प्रमुख न्यौपानेको भनाइ रहेको छ । यसअघि २५ जना क्षमताको पुरानो भवनमा पनि २०४५ सालदेखि नै क्षमताभन्दा बढी कैदीबन्दीहरूलाई जोखिमपूर्ण रूपमा राखिएको थियो । पुरानो भवन जीर्ण बनेपछि २०८० साल माघमा सबै कैदीबन्दीलाई नयाँ भवनमा सारिएको थियो । तर नयाँ भवनमा पनि कैदी बन्दीको सङ्ख्या करिब चार गुणाभन्दा बढीले राखिएको छ ।

हाल कारागार तीन रोपनी क्षेत्रफलमा एक करोड ८५ लाखको लागतमा निर्मित नयाँ भवनमा छ । तर पछिल्लो समयमा जिल्लामा दैनिक विभिन्न प्रकारका घटनाहरू बढिरहेका कारण पनि कैदीबन्दीको सङ्ख्या बढिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले बताउनुभयो । उहाँले हालको कारागारको क्षमताले थेग्न नसक्ने अवस्था भएकाले सरकारले नै विकल्प खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो ।