• २३ भदौ २०८२, सोमबार

पोषण सुधार परियोजना प्रभावकारी

blog

गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा बिउ बिजन उत्पादनका लागि यो वर्ष निर्माण गरिएको प्लास्टिक नर्सरी घर । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 
सिन्धुलीमाढी, भदौ २३ गते ।
सिन्धुली जिल्लाको विभिन्न स्थानमा सञ्चालित पोषण सुधार परियोजना प्रभावकारी बनेको छ ।
स्थानीय सकारको समन्वयमा जिल्लाको तीनपाटन, फिक्कल र गोलन्जोर गाँउपालिकामा विगत पाँच वर्षदेखि सञ्चालित उक्त परियोजनाका कारण कुपोषित बालबालिकाको स्वास्थ्यमा सुधार आउनुका साथै विपन्न परिवारको जीविको पार्जनमा समेत सहयोग पुगेको छ ।

स्वास्थ्य र पोषणलाई केन्द्रित गरेर सञ्चालित उक्त परियोजनाअन्तर्गत कुपोषित बालकालिकालाई पोषित बनाउने विभिन्न कार्यक्रम भई रहेको स्थानीयले जनाएका छन् ।

वल्ड भिजनको आर्थिक सयोगमा स्थानीय साझेदार संस्था सिड्स नेपाल र रिलिफ नेपालमार्फत तीनपाटन गाँउपालिकाको वडा नं. ४, ५, ६, ७, ८, १०, ११ गोलन्जोर गाउँपालिकाको वडा नं. १, २, ३, ४, ६ र फिक्कल गाउँपालिकाको २, ३, ४, ५ नम्बर वडामा उक्त परियोजना २०७८ (सन् २०२१) सालदेखि सञ्चालन हुँदै आएको छ । यो पाँच वर्षको अवधिमा नेपाल सरकारले निर्दिष्ट गरेको सूचकहरू पूरा गर्दै तीन पाटन गाउँपालिकाको वडा नं. १० लाई बागमती प्रदेशमै पहिलो पोषणमैत्री वडा घोषणा गर्न सफल भएको उक्त गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बालबालिकाको क्षेत्रमा तत्काल नदेखिने तर दीर्घकालीन रूपमा फाइदा हुने गरी विभिन्न काम भइरहेको छ । पालिकाको समन्वयमा एउटा कुपोषित व्यक्तिलाई स्वस्थ बनाउन गर्नुपर्ने आवश्यक काम सञ्चालन भई रहेको छ । अहिले घर घरमै करेसाबारीमा सिजन अनुसार तरकारी उत्पादन भई रहेको छ । बिषादीको प्रयोग न्युन हुदै गएको छ ।’’

त्यस्तै, स्थानीय बालमैत्री शासन अन्तर्गत तीनपाटन गाउँपालिकाकै वडा नं. ५, १०, ११, फिक्कल गाउँपालिकाको वडा नं. ३ र ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकाका लागि शैक्षिक सहयोगअन्तर्गत विद्यालय भवन निर्माणदेखि आइसिटी सामग्री, शैक्षिक सामग्री सहयोगका काम भई रहेको साझेदार संस्था रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेल बताउनुहुन्छ ।

पोषण सुधारका विभिन्न कार्यक्रमबाट हालसम्म १५ हजार ८५६ घर परिवार लाभान्वित भएका र पाँच वर्षको अवधिमा ५५ करोड ४९ लाख ३० हजार आठ सय रुपियाँ खर्च भएको साझेदार संस्थाले जनाएका छन् । उक्त रकम पोषण, बालमैत्री, कृषि, पशुपालन, विपद व्यवस्थापन र विपदबाट क्षति भएको भौतिक संरचना पुनर्निर्माण लगायतको क्षेत्रमा खर्च भएको सिड्स नेपालका अध्यक्ष दीपककुमार घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य संस्थामा गर्भवती महिलालाई लक्षित गरी तीन वटै पालिकाका सबै स्वास्थ्य संस्थाको सेवा सुविधालाई प्रभावकारी बनाउन स्वास्थ्य सामग्री वितरण गरिएको छ । खानेपानी योजना र सिँचाइ कुलो निर्माणसँगै त्योसँग जोडिएर ठुलो सङ्ख्यामा पोषणका लागि करेसाबारी सञ्चालन भएको छ ।’’

स्थानीय सरकारको साझेदारी जुटाई १८ वटा खानेपानी योजना निर्माण भई ४६६ घर परिवारले स्वच्छ खानेपानी उपभोग गरिरहेका र सात वटा सिँचाइ कुलो निर्माण गरी १९२ किसानको ७७३ रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको उहाँले बताउनुभयो । त्यस्तै, व्यवसायिक तरकारी खेती, व्यवसायिक तालिम, प्रविधि (कृषि औजार) सहयोग, उत्पादन समूह बनाई बाख्रा पालन, भैंसी पालन लगायत व्यवसायिक काम भइरहेको सिड्स नेपालले जनाएको छ ।