• १५ वैशाख २०८१, शनिबार

थप श्रमिक लैजानेबारे नेपाल–मलेसिया छलफल हुने

blog

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल

काठमाडौँ, माघ २० गते । नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने भएको छ । यसका लागि मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वको टोली बिहीबार राति नेपाल आइपुग्ने भएको छ । 

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुख स्रोत देश भएकाले नयाँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ । 

राजदूत पौडेलले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “कोरोना महामारीमा बन्द भएको मलेसियाका धेरै उद्योग, व्यवसाय खुलेका छन्, मलेसियालाई एकै पटक पाँच लाख श्रमिक चाहिएको छ, त्यस कारण अहिलेको माग र 

परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने विषयलाई मलेसियाको टोलीले भ्रमणको प्राथमिकतामा राखेको छ ।”  राजदूत पौडेलका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि मन्दी छाएको मलेसियाको अर्थतन्त्रले अहिले गति लिइरहेको छ । महामारीका कारण बन्द भएका कम्पनी खुल्ने र नयाँ कम्पनीसमेत धमाधम खुलिरहेकाले मलेसियाले हाल ठूलो सङ्ख्यामा श्रमिकको अभाव खेपिरहेको राजदूत पौडेलको भनाइ छ ।  

श्रम बजारमा बढ्दो श्रमिक अभावलाई पूरा गर्न मलेसियाले विभिन्न नीति तथा कार्यक्रम ल्याइरहेको जानकारी दिँदै राजदूत पौडेलले मलेसियामा जतिसक्दो चाँडो आफ्नो श्रम बजारमा श्रमिकको अभाव पूरा गर्ने योजनामा मलेसियाको टोलीको भ्रमण केन्द्रित हुने जानकारी दिनुभयो । यही कार्यक्रमअन्तर्गत नै गृहमन्त्रीसहितको उच्चस्तरीय टोली नेपाल आएको हो । राजदूत पौडेलले मलेसियाको गृहमन्त्रीस्तरीय नेपाल भ्रमण १४ वर्षपछि हुन लागेको पनि उहाँले जानकारी दिनुभयो । 

मलेसियाले ल्याएको कार्यक्रममा विभिन्न कारणले कागजातविहीन भएर काम गरिरहेका श्रमिकलाई आममाफीमार्फत पुनः कानुनी रूपमा काम गर्ने अवसर प्रदान गर्ने एउटा कार्यक्रम रहेको छ । मलेसियाको उच्चस्तरीय भ्रमणबाट मलेसियामा वर्षाैदेखि कागजातविहीन भएर काम गरिरहेका नेपालीलाई आममाफी दिएर घर फर्काउने वा काम गर्न चाहनेलाई विधिवत् गराएर कामको व्यवस्था हुने रादजूत पौडेलले जानकारी दिनुभयो ।

उहाँले मलेसियामा कति नेपाली कागजातविहीन भएर काम गरेका छन् भन्ने तथ्याङ्क मलेसियामा रहेको नेपाली दूतावाससँग भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “मलेसियामा ठूलो सङ्ख्यामा नेपाली कागजातविहीन भएर काम गरिरहेका छन् ।” 

मलेसिया सरकारले भर्खर फोरेन इप्लोइमेन्ट रिल्याक्सेसन प्लान पनि ल्याएको छ । यो कार्यक्रमअन्तर्गत मलेसियाले आफ्नो श्रम बजारमा नेपालसहित विभिन्न १५ देशबाट छोटो समयमा पाँच लाख श्रमिक लैजाने छ ।  मलेसियाको श्रम बजारमा नेपालको उपस्थिति हैसियतपूर्ण भएको भन्दै राजदूत पौडेल भन्नुभयो, “यस हिसाबले पनि नेपाललाई प्राथमिकतामा राखेर गृहमन्त्रीस्तरीय नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।” 

मलेसियाका लागि नेपाल प्रमुख स्रोत गन्तव्य हो भन्दै उहाँले, ‘श्रमका क्षेत्रमा  समस्या छन् भने दुई देशबीच छलफल गरेर त्यसलाई समाधान गर्ने र थप श्रमिक लैजाने विषयमा नै यो भ्रमणमा छलफल हुने जानकारी दिनुभयो । नेपालबाट कति श्रमिक मलेसियाले लैजाने हो भन्ने कुरा भने यकिन भइनसकेको उहाँको भनाइ छ । 

उहाँका अनुसार नेपालबाट मलेसिया श्रमिक पठाउने मोडालिटी शून्य लागत प्रस्ट छ, बाँकी सङ्ख्या, उनीहरूको प्रक्रिया कस्तो रहन्छ भन्ने विषयमा मन्त्रीस्तरमा व्यापक छलफल हुनेछ भने नेपाल र मलेसियाबीचको श्रम सम्बन्धलाई थप कसरी विस्तार सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

दूतावासका तर्फबाट मलेसियाको श्रम र गृह मन्त्रालयसँग औपचारिक रूपमा विभिन्न चरणमा भेटघाट र छलफल गरेपछि मलेसियन गृहमन्त्रीको नेपाल भ्रमणका बारेमा समझदारी भएको राजदूत पौडेलले बताउनुभयो । 

१४ वर्षपछि मलेसियाबाट हुन लागेको गृहमन्त्रीस्तरीय भ्रमणले नेपाल र मलेसियाबीचको भ्रमणले दुई देशबीचको श्रमसम्बन्धमा एउटा नयाँ उचाइ दिने राजदूत पौडेलको भनाइ छ । 

उहाँका अनुसार गृहमन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सन् २०१८ मै श्रम सम्झौता भए पनि पछिल्लो समय मलेसिया जाने श्रमिकले लाखौँ रुपियाँ तिर्नुपरिरहेको छ । नेपालसँग मिल्दोजुल्दो हावापानी र मलेसियाले न्यूनतम आधारभूत पारिश्रमिक बढाएर न्यूनतम एक हजार पाँच सय  मलेसियन रिङ्गिट पु-याएकाले पनि मलेसिया रोज्ने नेपालीको सङ्ख्या बढ्दो छ । 

चालू आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानका लागि झन्डै चार लाख जनाले श्रमस्वीकृति लिएका मध्ये ३५ प्रतिशत मलेसियाका लागि श्रमस्वीकृति लिएको विभागको तथ्याङ्कमा देखिन्छ । यो तथ्याङ्कले पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश बनेको छ ।