• २७ असोज २०८२, सोमबार

महँगियो भान्सा

blog

काठमाडौँ, असोज २७ गते । दैनिक उपभोग्य तरकारीको पछिल्लो दुई सातामा न्यूनतम ११ देखि बढीमा १२४ प्रतिशतसम्म बढेको छ । तरकारीको सर्वसाधारण उपभोक्ता यसको प्रत्यक्ष मारमा परेका छन् । 

“कमाइ बढ्दैन महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै गारो भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” कालीमाटी तरकारी बजारभित्र भेटिनुभएकी विन्दु अधिकारीले दुःखेसो पोख्नुभयो । 

“एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे आठ सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । 

निजी कम्पनीमा काम गरेर मासिक २४/२५ हजार रुपियाँ कमाएर अधिकारीले तीन छोराछोरीसहित आफ्नो सबै खर्च त्यसैबाट धान्नु पर्छ । हुन त उहाँको तलब सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनुसारभन्दा बढी छ तर यो तलबले अहिलेको महँगीमा आफूसहित चार जनाको परिवारलाई दाल र भात मात्रै खान पनि गाह्रो छ । महँगो तरकारी कसरी खाने ? 

“तरकारी महँगो भएर पनि राम्रो भए त हुन्थ्यो नि हेर्दैमा बासी कुहिन लागेको जस्तो देखिन्छन्,” कालीमाटीमै भेटिनुभएका महेश ढकालले थप्नुभयो । न्यून आय भएकालाई मात्रै होइन, मध्यम वर्गमा पनि राम्रै आय भएकालाई समेत भान्सा चलाउन गाह्रो भएको अनुभव उहाँले सुनाउनुभयो । 

तरकारीको महँगीले उपभोक्तालाई मात्रै असर गरेको छैन, व्यापारीसमेत व्यापार नभएर चिन्तित छन् । कालीमाटीको थोक बजारमा व्यापार गर्ने गीताप्रसाद आचार्य महँगो तिरेर ल्याएको तरकारी देख्दा पनि राम्रो र आकर्षक नभएकाले बिक्री नभएर चिन्तित हुनुहुन्छ । 

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्षसमेत रहनुभएका आचार्यले बर्खे तरकारीको सिजन सकिने, नयाँ उत्पादनमा दसैँपछिको पानीले क्षति पुगेकाले पछिल्ला दिनमा तरकारीको भाउमा दिनदिनै बढेको बताउनुभयो । आचार्यका अनुसार पछिल्लो केही दिनयता गोलभेँडा, आलु, बन्दा, सिमी, घिरौँला लौका, तितेकरेलालगायतको मात्रै बढेको छैन । मौसमी तरकारी मुला, तनेबोडी र सागको भाउ उच्च दरमा बढिरहेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार ४ बजेसम्म बजारमा ३८० मेट्रिक टनको तरकारी भित्रिएको छ भने शनिबार भने ६५० मेट्रिक टनको हारहारीमा आएको थियो । अधिकांश तरकारीको भाउ थोकमै प्रतिकेजीको एक सय रुपियाँभन्दा बढी छ । समितिका अनुसार सामान्य अवस्थामा बजारमा एक हजार मेट्रिक टनभन्दा बढी तरकारी भित्रिने गरेको छ । 

समितिका निर्देशक विनय श्रेष्ठले यो बेलामा बर्खे तरकारीको सिजन सकिने र नयाँ उत्पादनमा वर्षाले क्षति पुग्दा अहिले तरकारी महँगो भएको बताउनुभयो । 

तराईको उत्पादन लगभग सकिएको र पहाडी क्षेत्रको तरकारीमा वर्षाले गर्दा क्षति पुग्दा बजारको माग धान्न सकेको छैन, आउनेबित्तिकै तरकारी सकिन्छ । 

समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा अधिकांश तरकारी उपत्यकासहित पहाडी जिल्ला धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, दोलखा, रामेछापलगायतका ठाउँबाट तरकारी आउँछ ।