• ७ असोज २०८२, मङ्गलबार

हुँदाखानेलाई सेवा दिँदै सुपथ मूल्य पसल

blog

काठमाडौँ, असोज ७ गते । कीर्तिपुरको मच्छेगाउँ घर भएकी सबिता खड्का श्रीमान्सहित दसैँलाई चाहिने खाद्यान्न किनमेलका लागि थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत मूल्य पसलमा पुग्नुभयो । ग्राहकको निकै भिड भएकाले सामान लिन र पैसा तिर्न लाइन बस्नु परेको अनुभव उहाँको छ । 

खड्काको आफ्नै साधन भएकाले सहुलियत मूल्य पसलबाट चामल, चिनो, कर्णालीको सिमी, चिनी, खानेतेल, आँटा, मैदा र चिउरा गरी करिब १० हजारको सामान खरिद गर्नुभयो । उहाँले सस्तो राम्रो सामान पाइने भएकाले त्यति टाढाबाट खाद्यमा सामान किन्न आएको र लाइनमा बस्नु परे पनि कत्ति पनि दुःखेसो नभएको बताउनुभयो ।

सोही पसलमा कुपन्डोलबाट आएकी कल्पना पौडेलले चाडपर्वमा यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्दा आफू जस्ता सर्वसाधारण उपभोक्ताका लागि धेरै राहत भएको अनुभव सुनाउनुभयो । सहकारीमा पैसा सङ्कलन गर्ने उहाँले भन्नुभयो, “यस्ता पसलले हुनेखानेभन्दा पनि हुँदाखानेका लागि साँच्चिकै राहत भएको दिएका छन् । यस्तो छु्ट दसैँतिहारमा मात्रै सीमित नगरेर वर्षभरि दिनु पर्छ ।” 

साल्ट टे«डिङ कर्पोरेसनले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा पनि उपभोक्ताको भिड त्यस्तै नै छ । कर्पोरेसनमा धेरैजसो चिनी र नुन किन्ने छन् । कर्पोरेसनले चिनी प्रतिकेजी ९५ रुपियाँ र नुन प्रतिप्याकेट २४ रुपियाँ बिक्री गर्दै आएको छ । अन्य सामान दाल, चामल, आँटा, मैदा, खानेतेललगायतका खाद्यमा पनि प्रतिकेजी सात रुपियाँ छुट छ । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार देशभर करिब ४० वटा यस्ता पसल सञ्चालनमा छन्, जसमध्ये १२ वटा काठमाडौँ उपत्यकाभित्र छन् । 

महँगीको मारमा परेका र उपभोक्ता चाडपर्वका समयमा सहुलियत पाइने भन्दै टाढा टाढादेखि सुपथ मूल्य पसल खोज्दै जान्छन् । यस्ता पसलमा चामल, चिनी, दाल, तेल, चिउरा, आँटा जस्ता खाद्यान्नमा उपभोक्ताको विशेष आकर्षण रहन्छ । सरकारले हरेक वर्ष बजारभाउ नियन्त्रण गर्ने र चाडपर्वका उपभोक्तालाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यसाथ सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डिडिसी) मार्फत गत भदौ ३० देखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थान र साल्ट ट्रेडिङले न्यूनतम ४३ स्थानबाट सहुलियत दिएका छन् भने डिडिसीले उपत्यकामा दुई वटा र उपत्यकाबाहिर भएका प्रत्येक आयोजनाबाट छुट दिइएको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रवक्ता माधव मिश्रले सहुलियत मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेसँगै कारोबार पनि बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार कम्पनीले सञ्चालन गरेका १११ बिक्री केन्द्रबाट दैनिक एक करोड बढीको कारोबार गरेको छ । कम्पनीको आपूर्ति व्यवस्थामा सुधार आएको र दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्ने क्रम जारी रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो । 

खाद्य कम्पनीका अनुसार संविधान दिवस, शनिबार, सार्वजनिक बिदा र घटस्थापनामा समेत कम्पनीले सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । कम्पनीले देशभरका सहुलियत सुपथ मूल्य पसलका अवस्थाको नियमित अनुगमन गरिरहेको र सोही अनुसार आवश्यक व्यवस्थापन गरिरहेको पनि कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीले सञ्चालन गरेको अनलाइन सेवा पनि प्रभावकारी बन्दै गएको जनाएको छ । कम्पनीले आफ्नो अनलाइन पोर्टल नेपालफुड्स डट जिओभी डट एनपीमार्फत पनि सेवा दिइरहेको छ । खाद्य कम्पनीका प्रवक्ता मिश्रले अनलाइनबाट माग गर्दा पसलमा जस्तै समान मूल्यमा सामान उपलब्ध हुन्छ र डेलिभरी चार्ज पनि नलाग्ने बताउनुभयो । उहाँका अनुसार अनलाइनबाट न्यूनतम पाँच हजारदेखि अधिकतम १५ हजार रुपियाँ बराबरको सामान माग गर्न सकिन्छ ।