भवानीदत्त भट्ट
कञ्चनपुर, कात्तिक १० गते । प्रहरीले कञ्चनपुरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा एक सय १३ जनालाई पक्राउ गरेको छ । यस वर्षको तिहारको समयमा रातदिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११३ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जिल्लास्थित विभिन्न स्थानमा चौबिसै घण्टा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई जुवा खालबाटै नगद सात लाख २९ हजार ५४६ रुपियाँसहित पक्राउ गरिएको बताउनुभयो ।
यस वर्षको तिहारको समयमा जिल्ला स्थित भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका जुवाडेहरूलाई तिहार अघि र तिहारको अन्तिम दिन पक्राउ गरिएको प्रनाउ बोहराले बताउनुभयो ।
प्रहरीले असोज २४ गते भीमदत्त नगरपालिका १८ सिद्धिविनायक टोलस्थित भास्कर भट्टले सञ्चालन गरेको चिया नास्ता पसलमा जुवा तास खेलिरहेका ११ जनालाई पक्राउ गरेको थियो । उनिहरूको साथबाट प्रहरीले २१ हजार छ सय ३५ रुपियाँ समेत बरामद गरेको थियो ।
यसैगरी, असोज २६ गते भीमदत्त नगरपालिका १२ पिपरैयास्थित सुरेन्द्र बोहराको पसलमा जुवा तास खेलिरहेका ११ जनालाई ५४ हजार ४९१ नगदसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले असोज २७ गते बेदकोट नगरपालिका–९ स्थित विकास बमले सञ्चालन गरेको अम्बै कटेजमा जुवा तास खेलिरहेका नौ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उक्त जुवा खालबाट एक लाख ६९ हजार ९३५ नगद समेत बरामद गरिएको जनाएको छ ।
प्रहरीले असोज २८ गते शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित वीरबहादुर विष्टको किराना पसलमा जुवा तास खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको थियो । साथै उनीहरूको साथबाट प्रहरी ६३ हजार पाँच सय रुपियाँ नगद समेत बरामद गरेको जनाएको छ ।
प्रहरीले कात्तिक १ गते महेन्द्रनगरस्थित गल्ली नम्बर १ मा गोरख बहादुर चन्दको घरमा जुवा तास खेलिरहेका ६ जना जुवाडेहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूको साथबाट २३ हजार ११० रुपियाँ समेत बरामद गरेको बताएको छ ।
कात्तिक ४ गते बेलडाँडी गाउँपालिका–२ चौवन्नी, बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेमा जुवा तास खेलिरहेका आठ जनालाई २७ हजार ८६५ नगदसहित पक्राउ गरेको थियो । सोही दिन बेदकोट नगरपालिका–३, दैजीस्थित बेलडाँडी चोक बस्ने योग सिह मालीको घरमा जुवा तास खेलिरहेका सात जनालाई ५१ हजार २६० नगदसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले कात्तिक ५ गते दोधारा चाँदनी नगरपालिका-३, देवी स्थानस्थित डम्बर दमाईको घरमा जुवा तास खेलिरहेका चार जनासहित २१ हजार ८७५ र नगद ३ थान मोबाइल फोन समेत बरामद गरेको थियो । सोही दिन भीमदत्त–१८, पुष्पलाल चोकस्थित प्रदीप चन्दको पसलमा जुवा तास खेलिरहेका सात जनालाई ४१ हजार ९७५ रकमसहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी, कात्तिक ६ र ७ गते प्रहरीले दोधारा चाँदनी नगरपालिका–१, पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवा तास खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट प्रहरी ३० हजार ९३५ नगद र ४ थान मोबाइल फोन समेत बरामद गरेको थियो ।
कात्तिक ८ गते प्रहरीले भीमदत्त नगरपालिका-१, भासीस्थित स्थानीय सुरेन्द्र भण्डारीको घरमा हार जित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा नौ जनालाई नियन्त्रणमा लिएको थियो । साथै प्रहरीले जुवा खालबाट ५५ हजार ११५ रकम समेत बरामद गरेको जनाएको छ ।
मुलुकी अपराध संहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जुवा ताससम्बन्धी १४ मुद्दा समेत दर्ता भएको जनाएको छ । हाल जिल्लामा पक्राउ परेकाहरू सबै छुटिसकेका प्रनाउ बोहराले बताउनुभयो ।