• ५ जेठ २०८१, शनिबार

भारतद्वारा पचास हजार मेट्रिक टन गहुँको कोटा निर्धारण

blog

काठमाडौँ, पुस १० गते  । भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । लामो समयसम्म आयातमा प्रतिबन्ध लाग्दा बजारमा गहुँको अभाव भई मिल बन्द हुन थालेपछि उद्योगीले खुला गर्न माग गरेका थिए । 

उद्योगी व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतलाई वार्षिक आठ लाख मेट्रिक टन गहुँ आयात गर्न माग गरेकामा भारतले ५० हजार मेट्रिक टन मात्रै अनुमति दिएको हो । भारतले आगामी चार महिनाभित्र आयात गरिसक्ने गरी ५० हजार मेट्रिक टन गहुँ आयातको अनुमति दिएको जानकारी पाएको मन्त्रालयले जनाएको छ ।  

नेपाल फ्लोर मिल एसोसिएसनका अध्यक्ष कुमुद दुगडले ५० हजार मेट्रिक टन गहुँले २० देखि २५ दिनलाई मात्र पुग्ने हुँदा अभाव कायम रहने बताउनुभयो । दुगडले भन्नुभयो, “हाल १० दिनलाई मात्र पुग्ने गहुँको मौज्दात छ, भारतले कोटा निर्धारण गरेको ५० हजार टन गहुँले बजार माग धान्न सक्दैन ।”

आगामी चैतको मध्यसम्म ३८ वटा मैदा उद्योगलाई दुई लाख ५० हजार मेट्रिक टन गहुँ आवश्यक पर्नेमा भारतले उपलब्ध गराउने यो परिमाणले २० प्रतिशत आवश्यकता मात्र पूरा हुने दुगडले जानकारी दिनुभयो । बजारमा गहुँको अभाव हुँदा चोरी तस्करीबाट आएको गहुँले माग धानिरहेको उहाँको भनाइ छ । 

कच्चा पदार्थ अभावले गर्दा हाल मुलुकभर रहेको ३८ वटा मैदा मिल रहेकामा ५० प्रतिशत बन्द रहेको र सञ्चालनमा रहेका मिल पनि दिनमा चारदेखि पाँच घण्टा मात्र चल्ने गरेको उद्योगीको भनाइ छ । सङ्घका अनुसार सात महिनादेखि गहुँको आयात नहुँदा अधिकांश मिल बन्द अवस्थामा रहेका हुन् ।  

वैशाख ३० गते भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले गहुँको आयात खुलाउन पटकपटक पत्राचार गरेको थियो । सो पत्रको जवाफमा भारतले नेपाललाई चाहिने गहुँको परिमाण माग गरेको थियो । सङ्घका अनुसार स्वदेशी मैदा उद्योगलाई वार्षिक १० लाख  मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकामा चार लाख मेट्रिक टन स्थानीय उत्पादन र बाँकी छ लाख मेट्रिक गहुँ आयात गर्नुपरेको छ । मैदा, आँटा, पास्ता, बिस्कुटलगायतका उत्पादन गहुँबाट हुने गर्छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८÷७९ मा सात लाख १६ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ४४ हजार ५६८ मेट्रिक टन भएको छ । आव २०७७/७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख नौ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

६५ करोडको गहुँ आयात

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा (साउन–मङ्सिर) ६५ करोड सात लाख ३२ हजार रुपियाँ बराबरको १८ हजार ९१४ क्विन्टल गहुँ आयात भएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ५५ करोड ५० लाख दुई हजार रुपियाँ बराबरको नौ लाख १९ हजार २९१ क्विन्टल गहुँ आयात भएको थियो । 

गत वर्ष भएको रुस–युक्रेन युद्धका कारण गहुँ आयात रोकिएको र सुक्खाका कारण आन्तरिक उत्पादन कम भएको भन्दै भारत सरकारले गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण चालू आवको पाँच महिनामा नेपालमा न्यून परिणाममा गहुँ आयात भएको हो । 

नेपालमा सबैभन्दा धेरै गहुँ भारतबाट आयात हुने गर्छ । अस्ट्रेलिया, मेक्सिको र टर्कीबाट थोरै परिणाममा गहुँ आयात हुने गर्छ । गहुँको बीउ, पिठो र मैदा आयात हुने गर्छ । दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको गहुँ स्थानीय उत्पादनले माग धान्न नसकेपछि बर्सेनि आयात हुने गर्छ ।