• २८ असोज २०८२, मङ्गलबार

हिमपातले आन्तरिक पर्यटक अलपत्र

blog

हुम्ला समाचारदाता 

हुम्ला, असोज २८ गते । नाम्खा गाउँपालिका–६ को न्यालु लेकको सडकमा हिउँ जमेर यातायात सेवा अवरुद्ध हुँदा २२ जना आन्तरिक पर्यटक ताक्ची र तुम्लिङमा अलपत्र परेका छन् । सडक सुचारु नभएपछि बोलेरो जिपसहित ती आन्तरिक पर्यटक चार दिनदेखि ताक्चीमा अलपत्र परेका हुन् । 

हिमपातले सडक अवरुद्ध भएपछि चार दिनदेखि ताक्चीमा रहेका सिमकोट गाउँपालिका–५ का पवन रोकाया धन्न ताक्ची र तुम्लिङमा बास बस्ने होटेल भएका कारण जेनतेन चलेको बताउनुभयो । असोज २३ र २४ गते सो क्षेत्रमा बाक्लो हिमपात भएको थियो । न्यालु क्षेत्र पाँच हजार मिटर उचाइमा रहेको छ । आफूसहित २२ जना आन्तरिक पर्यटक लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न गएका बेला एक्कासि हिमपात भएपछि न्यालुको सडक बन्द हुँदा सबै जना अलपत्र अवस्थामा ताक्चीमा बसिरहेको जानकारी उहाँले दिनुभयो । तीन दिनको व्यवस्था गरेर गएकोमा यति धेरै दिन बस्नु पर्दा आर्थिक अभाव पनि भएको बताउँदै उहाँले होटेलका साहुको उधारो खाएर आउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । पाँच वटा बोलेरो जिप पनि ताक्चीमै रोकिएका छन् । ताक्चीमा अलपत्रमध्ये आठ जना लिमीको हल्जी गाउँमा एक रात बास बसेर हिल्सातर्फ लागेको र बाँकी १४ जना भने ताक्चीमै बसेको जनाइएको छ । हिल्सातर्फ लागेको टोली अब नारा लेक भएर सिमकोट आउने छ । न्यालुको हिउँ पन्छाउने काम नभएसम्म ताक्चीमा रहेका आन्तरिक पर्यटक आउन सक्ने अवस्था नरहेका कारण बरु चाँडै सो हिउँ फाल्ने व्यवस्थाका लागि उहाँले आग्रह गर्नुभएको छ । 

न्यालु लेकको सडकमा तीनदेखि चार फिट हिउँ जमेका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा पर्यटक ताक्चीमा रोकिएको सशस्त्र प्रहरी बल ४४ नं. गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक कवीन्द्र महर्जनले बताउनुभयो । लिमीमा रहेको एक्साभेटर प्रयोग गरेर न्यालु लेकको सडकमा जमेको हिउँ फाल्ने कार्य मङ्गलबार हुने र त्यसलगत्तै यातायात सुचारु गरेर ताक्चीमा अलपत्र परेका पर्यटकको उद्धार गरिने जानकारी उहाँले दिनुभयो ।