राजन रावत
हुम्ला, असोज २८ गते । निर्वाचन आयोगले नयाँ मतदाता नामावली दर्ता कार्य पुनः सुरु गरेपछि जिल्ला निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउने युवाको सङ्ख्या बढ्दै गएको छ । यसअघि छुटेका र तोकिएको मितिसम्म नयाँ मतदाताका लागि नाम दर्ता गराउने उमेर पुगेका युवाहरु दैनिक जसो निर्वाचन कार्यालयमा आफ्नो नाम दर्ता गराउन सुरु गर्नुभएको हो ।
निर्वाचन कार्यालयमा पुगेर आफ्नो नाम मतदाता नामावलीमा नाम दर्ता गराउनुभएका खार्पुनाथ गाउँपालिका– ५ का अकिल शाहीले युवाहरु आफ्नो नाम दर्ता गराउने कार्यमा सक्रिय भएको बताउनुभयो । पहिले युवाहरु यसरी नाम दर्ताको कुरा गर्दा खासै चासो नराख्ने गरेको भए पनि पछिल्लो जेन जेड आन्दोलनपछि भने चासो राख्न थालेको र एक दिनमा चौध जनाले आफूसँगै मतदाता नामावलीका लागि नाम दर्ता गराउनेमा सबै अठारदेखि २५ वर्षका युवा रहेको उहाँले बताउनुभयो । पछिल्लो परिवर्तनपछि मतदाता नामावली दर्तामा युवाको चासो स्वतः स्फूर्त रुपमा बढेको बताउँदै अब नाम दर्ता नगराएका युवाहरुलाई कात्तिक मसान्तसम्म नाम दर्ताका यो काममा सरिक गराउने काय गरिने उहाँले बताउनुभयो ।
जिल्लाा निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाले असोज ९ गतेबाट मतदाता नामावली दर्ता गर्ने कार्य सुरु भएकोमा दसैँको कारण खासै कोही नआएको भए पनि दसैँ बिदा सकिएपछि भने नाम दर्ता गराउन आउनेको सङ्ख्या बढिरहेको बताउनुभयो । हाल नयाँ एक सय जनाले नाम दर्ता गराउनुभएकोमा त्यसमा एक जना ७४ वर्षको वृद्धादेखि अन्य सबै १८ वर्ष आसपासका युवाहरु रहेको उहाँले बताउनुभयो । धेरैले कार्यालयमा फोन गरेर मतदाता नामावलीमा नाम दर्ताका लागि आवश्यक कागजातका बारेमा जानकारी लिने गरेको पनि उहाँले बताउनुभयो ।
यसअघि नाम दर्ताका लागि यस किसिमको युवाहरुले चासो लिएको नपाइएको भए पनि अहिले भने चासो बढेकोमा उहाँले पनि खुसी व्यक्त गर्नुभयो । हुम्ला जिल्लाको मतदाता नामावली सङ्ख्या ३३ हजार ३३७ रहेकोमा त्यसमा थपिने क्रम जारी छ । आगामी कात्तिक ३१ गतेसम्म नयाँ मतदाता नामावली दर्ता गराउन पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।