सुर्खेत, असोज २८ गते । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ मा रहेको आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रीतिमा बुढा बोल्ने बानी बसाल्नु पर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनु पर्छ भन्ने सोचका साथ अघि बढिरहनुभएको छ ।
कक्षा ६ सम्म उहाँलाई शिक्षकले केही कुरा सोध्दा पनि मुटु कामेर आउँथ्यो तर कक्षा ७ मा प्रवेश गरेसँगै साथी समूह अगुवाई (पिजिएल ग्रुपमा) सहभागी हुन थालेपछि उहाँले आत्मविश्वासका साथ आफ्नो विचार राख्दै आउनुभएको छ । बालिका शिक्षाको दिगोपना र मूलप्रवाहीकरणका लागि सञ्चालित जेम्स परियोजनाले किशोरीको अङ्ग्रेजी, डिजिटल तथा सामाजिक सिपमा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको छ । पिजिएल ग्रुप सिकाइ पाठ्यक्रममा आधारित नभई बाहिरी वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित गर्ने र जीवनोपयोगी हुँदा बालिका लाभान्वित भएका छन् ।
सानालाई माया र ठुलालाई आदर गर्नु पर्छ, सबैसँग मिलेर बस्नु पर्छ, सरसफाइमा विशेष ध्यान दिनु पर्छ भन्ने जान्न र व्यवहारमा उतार्न उक्त सिकाइले सहयोग गरेको गुर्भाकोट नगरपालिका–१० मा रहेको भेरी माविमा अध्ययनरत छात्रा चाँदनी आचार्यले बताउनुभयो । किशोरीहरूलाई लेखन, सार्वजनिक रूपमा बोल्ने कला, डिजिटल दक्षता, सामाजिक समझदारी र नेतृत्व क्षमतामा सुधार गर्न जेम्स परियोजनाले सहयोग गरिरहेको छ । पिजिएल ग्रुपमा सहभागी सन्ध्या विकले आत्मविश्वासका साथ विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने सिप सिकिरहेको बताउनुभयो । विकले ल्यापटप प्रयोग गर्ने, टाइपिङ सुधार गर्ने, गुगल मिट र युट्युब जस्ता एप प्रयोग गर्ने, इमेल पठाउने तथा अनलाइन सुरक्षा नियमबारे ज्ञान हासिल गरेको बताउनुभयो ।